संस्कृत-शब्दकोशः

संस्कृत-नेपालीकोशः

संस्कृत भाषा विश्वको सर्वप्राचीन भाषा हो । यो दक्षिण एसियाका धेरै भाषाहरूको जननी भाषा पनि हो । दक्षिण एसियाबाहेक पनि संस्कृत भाषाको प्रभाव अन्य सयौँ भाषाहरूमा पाइन्छ । त्यसैले यस भाषाको महत्त्व गरिमापूर्ण छ । नेपाली भाषाको जननी भाषा संस्कृत भाषा हो । नेपाली भाषाका करीब ७०% भन्दा बढी शब्दहरू संस्कृतका नै छन् । अतः नेपालीभाषालाई माध्यम बनाएर सजिलोसंग संस्कृत सिक्न सकिन्छ ।भाषा सिक्ने सजिलो माध्यम शब्दकोश पनि हो । शब्दकोशको माध्यमले कठिनभन्दा कठिन शब्दहरूको सजिलै अर्थबोध गर्न सकिन्छ ।  संस्कृतका शब्दहरूका ज्ञानका लागि अहिलेको परिवर्तित सन्दर्भमा संस्कृत-नेपाली शब्दकोश अपरिहार्य विषय हो । अहिले हरेक व्यक्ति विद्युतीय यन्त्रले युक्त छ । परिवर्तित विश्वको वर्तमान परिवेशमा एउटा भरपर्दो विद्युतीय शब्दकोशको आवश्यकता खड्किएको थियो । त्यस आवश्यकता परिपूर्तिका लागि प्रयासस्वरूप यो ‘संस्कृत-शब्दकोशः’ (App) निर्माण गरिएको हो ।

यो एप्सको आधारभूमि नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित पं. फणीन्द्रप्रसाद पाण्डेयद्वारा सङ्कलित बृहत् संस्कृत-नेपाली शब्दकोश एवं विद्वच्छिरोमणि पं. कुलचन्द्र गौतमको संस्कृत-नेपाली शब्दकोश हो । साथै शब्दसङ्कलन र सम्पादनको क्रममा अन्य विभिन्न कोशहरूलाई आधार बनाइएको छ । नेपाली भाषा सम्पादनमा विशेष गरी प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘नेपाली बृहत् शब्दकोश २०४०’ को दसौँ संस्करणलाई आधार बनाइएको छ । यथासम्भव संस्कृतका सम्पूर्ण धातुहरूको पनि संकलन गरी त्यसको पद, गण कर्म आदिसहित नेपालीमा अर्थ दिइएको छ । साथै धातुहरूको कृदन्त रूप ‘कृदन्तरूपमाला’–(रामसुब्रह्मण्यशास्त्री) पनि दिइएको छ । सम्भव भएसम्म शब्दहरूको निष्पत्ति, व्युत्पत्ति आदि पनि दिने प्रयास गरिएको छ । यस कोशको निर्माणबाट संस्कृत अध्ययनका लागि थोरैमात्र पनि उपकार भएमा यो कार्य सफल हुनेछ । शं करोतु शङ्करः ।

के.एन्. स्वामी
काठमाडौं, नेपाल