बलिः (पुंलिङ्ग)
अर्थ−
१. प्रह्लादका नाति, विरोचनका छोरा र बाणासुरका पिता एक दैत्यराज । यिनको घमन्ड चूर पार्न वामनावतार भएको र यी अठ्ठाइसौँ मनु मानिन्छन्,
२. एक ऋषि,
३. मालगुजारी,
४. कुनै मानिसलाई भेट गर्दा दिइने उपहार,
५. पूजाको सामान,
६. पञ्चमहायज्ञहरूमध्ये चौथो भूतयज्ञ,
७. चमरको डाँठ,
८ उपद्रव/उत्पात,
९. पूजा/अर्चा,
१०. देवतापितृ आदिले पाऊन् वा खाऊन् भन्ने भावनाले पूजाको क्रममा चढाइने आमान्न, पक्वान्न, फलादि वा जीवादि वस्तु वा खाने चिजलाई बलि भनिन्छ । मेरुतन्त्रमा बलिका तीन भेद छन् - तान्त्रिकबलि, स्मार्तबलि र वैदिकबलि । भनाइ छ-
“बलिस्तु त्रिविधो ज्ञेयस्तान्त्रिकः स्मार्त एव च ॥
वैदिकश्चेति तत्रादौ तान्त्रिकोऽष्टविधः स्मृतः ॥
नरश्च महिषः कोलश्छागोऽविः सारसस्तथा ॥
कपोतः कुक्कुटश्चेति सामान्याः पूर्वपूर्वतः ॥”
(मेरुतन्त्र) । तान्त्रिक बलिको तन्त्रशास्त्रमा विभिन्न पशुपन्छी आदि जीवहरूको बलि दिने कुराको चर्चा (पुरश्चर्यार्णवमा) भए तापनि यहाँ सामान्य आठ बलिहरू यी हुन् - नर, महिष, कोल (शूकर), छाग, अवि (मेष), सारस, कपोत र कुक्कुट । वैदिक बलिमध्ये भात, मास, बारा आदि बलिको विशेषता छ । भनिएको छ-
“वैदिकन्तु बलिं दद्यादोदनं स्विन्नमाषवत् ॥
सरोचनपतिक्रूरदैवते वटकाचितम् ॥”
(पुंरश्चर्यार्णव, भाग चार) । स्मार्तबलि - कुभिन्डो, नरिवल, बेल, उखु आदि । कुभिन्डो, उखु, मासु, सारस यो छाग समानका बलिहरू हुन् । भनाइ छ-
“कूष्माण्डमिक्षुदण्डं च मांसं सारसमेव च ॥
एते बलिसमाः प्रोक्तास्तृप्तौ छागसमाः सदा ॥”
(कालिकापुराण) । तान्त्रिक दक्षिणाचारमा बलि दिइने वस्तुहरू - पकाएको मास, लावा, भुटेको अन्न, सातु, च्यूरा, चामल, भात, धान, पनीर, यवागू, (जौ वा चामलको माड), खिचडी/खिच्रो, खीर, घिउ वा दही मिलाएको अन्न, पकाएको अन्न र फलहरू । भनाइ छ-
“माषभक्तं तथा लाजा धानाः सक्तव एव वा ॥
पृथुकास्तण्डुला वापि स्विन्ना ब्रीहय एव च ॥
आमिक्षा वा यवागूर्वा कृशरं पायसं तथा ॥
आज्याभिषिक्तं दधि वा पक्वान्नानि फलानि वा ॥”
तान्त्रिक वामाचारमा - पोलेको, भुटेको वा पकाएको माछो अथवा रक्सी अधिकारिविशेषद्वारा दिन सकिन्छ तर साधारण व्यक्तिद्वारा दिन सकिंदैन । भनाइ छ-
“दग्धमीनो भर्जितं वा तेमनीकृतमेव वा ॥
मदिरा वा प्रदातव्या बलित्वेन वरानने ॥
सर्वसाधारणत्वेन बलिर्नैष प्रकीर्त्यते ॥
अधिकारिविशेषेण दातुं शक्यो बलिस्त्वयम् ॥”
देवताहरूको भेदले बलिका भेदहरू पनि अनेक छन् । यस विषयमा पुरश्चर्याणव भाग-१ मा हेर्नू । बलि दिइने वस्तुको अभावमा वा अशक्तावस्थामा बलिका प्रतिनिधि भएका वस्तुहरू- राँगोको सट्टा कुभिन्डो, बोकाको सट्टा काँक्रो, कुखुराको सट्टा भान्टा, भेडाको सट्टा तुम्बा, मानिसको सट्टा रूखकटहर, माछाको सट्टा उखु वा केरा, गधाको सट्टा शूरण, मृगको सट्टा घिरौंलो, हात्तीको सट्टा खीर, बिरालाको सट्टा गहत, सुँगुर वा बँदेलको सट्टा परवर, गैंडाको सट्टा शर्कराबालुक, मूसाको सट्टा मूला, सारसको सट्टा तरबुजो, सुगाको सट्टा नरिवल, सबै थरी बलिको सट्टा माष, खिचडी । भनाइ छ-
“महिषत्वेन कूष्माण्ड छागत्वेन च कर्कटीम् ॥
वन्ताकं कुक्कुटत्वेन, मेषत्वेन तु बिम्बिकाम् ॥
मानुषत्वेन पनसं मत्स्यत्वेनेक्षुदण्डकम् ॥
शूरणञ्च खरत्वेन दातव्यं कोशकं मृगे ॥
पायसं तु गजत्वेन मार्जारत्वे कुलत्थकम् ॥
पटोलं शूकरत्वेन, शर्कराबालुकं तथा ॥
खड्गत्वेन महेशानि ! मत्स्यत्वे कदलीफलम् ॥
मूषकत्वे मूलकञ्च सारसत्वे कलिङ्गकम् ॥
कीरत्वे नारिकेलञ्च मत्स्यत्वे कदली च वा ॥
माषाः सर्वबलित्वेन कृशरान्नन्तथा मतम् ॥
(शक्तिसङ्गमतन्त्र) । यज्ञविशेषमा बलिविशेषः- गोमेध यज्ञमा सेतो साँढे, नरमेध यज्ञमा मानिस, गजक्रान्त यज्ञमा हात्ती, अश्वमेध यज्ञमा घोडा, शङ्खचूडमहायज्ञमा हात्ती बलि दिइन्छ । भनाइ छ-
“आलभेत वृषं श्वेतं यज्ञे गोमेधनामनि ॥
नरमेधे नरं चापि गजक्रान्ते गजं तथा ॥
अश्वमेधं तथैवाश्वं शङ्खचूडे च हस्तिनम् ॥”
(महाकालसंहिता) ।
बलिः (स्त्रीलिङ्ग)
अर्थ−
शरीरमा पर्ने चाउरी ।