ब्राह्मणाः (पुंलिङ्गबहुवचन)
अर्थ−
आठ थरीका ब्राह्मणहरू - मात्र, ब्राह्मण, श्रोत्रिय, अनूचान, भ्रूण, ऋषिकल्प, ऋषि र मुनि । ‘ब्राह्मणमात्र’ - ब्राह्मणकुलमा जन्मेको तर गुण आचार र कर्म नभएको, ‘ब्राह्मण’ -वेदमा पारङ्गत, आचारवान्, सरलस्वभाव, शान्तप्रकृति, एकान्तसेवी, सत्य बोल्ने र दयालु, ‘श्रोत्रिय’ - वेदको एक शाखाका ६ अङ्गहरू र श्रौत विधिसहित अध्ययन गरेर अध्ययन, अध्यापन, यजन, याजन, दान र प्रतिग्रहमा लागेको धार्मिक ब्राह्मण, ‘अनूचान’ - वेदवेदाङ्गको तत्त्व जान्ने, शुद्धात्मा, पापरहित, श्रोत्रियको गुण भएको, श्रेष्ठ र विद्वान् ब्राह्मण, ‘भ्रूण’ - अनूचानको गुण भएको नियमित रूपले यज्ञ र स्वाध्याय गर्ने, यज्ञशेषको भोग गर्ने, जितेन्द्रिय र शिष्ट ब्राह्मण, ‘ऋषिकल्प’ - सम्पूर्ण वैदिक र लौकिक ज्ञान प्राप्त गरेर आश्रम व्यवस्थाको पालना गर्ने संयमी ब्राह्मण, ‘ऋषि’ - ऊर्ध्वरेता, अग्रासनको अधिकारी, निश्चित शुद्ध खाना खाने, संशय नभएको, सराप्न र अनुग्रह गर्न समर्थ, सत्यप्रतिज्ञ ब्राह्मण, ‘मुनि’ - सबै कर्मबाट हटेको, सम्पूर्ण तत्त्व जाने, काम क्रोध नभएको, ध्यानमा लाग्ने, कुनै पनि काममा चासो नभएको, उदार विचारको र माटो र सुन भनी भेद नगर्ने । अर्को दृष्टिकोणबाट ब्राह्मण दशथरी हुन्छन् । ती हुन् - उपाध्याय, दीक्षित, पाठक, शुक्ला, मिश्र, अग्निहोत्री, द्विवेदी, त्रिवेदी, पाण्डेय र चतुर्वेदी । भनाइ छ-
“उपाध्यायो दीक्षितश्च पाठकः शुक्लमिश्रकौ ॥
अग्निहोत्री द्विवेदी च त्रिवेदी पाण्ड्य एव च ॥
चतुर्वेदीति कथिता नामतुल्यगुणाः स्मृताः ॥”
(भविष्यपुराण) ।