संस्कृत-शब्दकोशः

भैमी एकादशी भैरवतर्जक

भैरव

भैरव (विशेषण)


अर्थ−
१. डरलाग्दो,
२. डरलाग्दो आवाज गर्ने,
३. भैरव देवतासम्बन्धी ।


भैरवः (पुंलिङ्ग)


अर्थ−
१. शिव,
२. शिवको एक गण,
३. साहित्यमा भयानक रस,
४. नागविशेष,
५. नदविशेष,
६. शरद् ऋतुको पहिलो प्रहरमा गाइने एक राग,
७. तालका आठ मुख्य भेदमध्ये एक,
८. पिउँदा पिउँदै बान्ता गराउने/रक्सी,
९. सुरुमा देवीको मन्त्र जानेर उपासना गर्ने शिव रूप देवता । बेग्लाबेग्लै देवीका बेग्लाबेग्लै नाम र सगुणरूपको ध्यानले गर्दा भैरवका नाम फरक - फरक हुन्छन्, जस्तै - दशमहाविद्याका दश भैरव यी हुन् - १. कालिका - महाकाल २. तारा- अक्षोभ्य ३. त्रिपुरसुन्दरी - ललितेश्वर (त्रिपुरभैरव) ४. छिन्नमस्ता - विकरालक (क्रोधभैरव) ५. भुवना - महादेव ६. धूमावती - कालभैरव (घोरभैरव) ७. महालक्ष्मी- नारायण ८. भैरवी - बटुकभैरव ९. मातङ्गी - मतङ्गभैरव (सदाशिव) १०. बगला – मृत्युञ्जय । भनाइ छ-

“कालिकाया महाकालः सुन्दर्या ललितेश्वरः ॥
तारायाश्च तथाऽक्षोभ्यश्छिन्नाया विकरालकः ॥
भुवनाया महादेवो धूप्रायाः कालभैरवः ॥
नारायणो महालक्ष्म्या भैरव्या बटुकः स्मृतः ॥
मातङ्ग्यास्तु मतङ्गः स्यादथवा स्यात् सदाशिवः ॥
मृत्युञ्जयस्तु बगलाविद्यायाः परिकीर्तितः ॥”

(शक्तिसङ्गमतन्त्र) ब्राह्मी आदि अष्टमातृकाहरूका आठ भैरवहरू यी हुन् - असिताङ्ग, रुरुनाथ, चण्डनाथ, क्रोध भैरव, उन्मत्तभैरव, कपालिभैरव, भीषणभैरव र संहारभैरव । यी बाहेक बटुक भैरव आठ छन् । भनाइ छ-

“असिताङ्गो रुरुश्चण्डः क्रोध उन्मत्तभैरवः ॥
कपाली भीषणश्चैव संहारश्वाष्टभैरवाः ॥”

कालिका पुराणअनुसार शिवका दुई गण छन् - शृङ्गी र महाकाल । पार्वतीको सरापले शिवरूप चन्द्रशेखर तथा पार्वती रूप तारावतीको छोरा भएर जन्मे, दाजु (जेठो) को नाम भैरव भाइ (कान्छो)को नाम वेताल भयो । भनाइ छ-

“ज्येष्ठो भैरवनामाऽभूद्वीरो पुत्रो भयङ्करः ॥
बेतालसदृशः कृष्णो बेतालोऽभूत्तथाऽपरः ॥”

(कालिकाकपुराण ५२ अध्याय श्लोक १४६) सतीदेवीका जहाँ-जहाँ अङ्ग झरेका थिए त्यहाँ त्यहाँ देवीरूपमा शक्ति पीठ र ती शक्ति पीठका भैरवहरू बेग्लाबेग्लै नामले प्रसिद्ध छन्, जसका नामहरूको उल्लेख तन्त्रचूडामणिमा छ । यी बाहेक, विश्वरूप, महाकाल, काल भैरव आदि अनेक भैरवका भेद छन् । यिनहरूका नाम, ध्यान, वर्णन आदि तन्त्र तथा पुराणहरूबाट जान सकिन्छ । ब्रह्माका पाँचशिरमध्ये एक शिर रिसाएका शिवको बायाँ हातको नङले काटिएपछि शिर मात्रको रूपमा अवस्थित देवता । भनाइ छ-

“भैरवोऽहं पुरा देवि ब्रह्मणः पञ्चमं शिरः ॥
चिच्छेद कोपमनसा वामाङ्गुलिनखाग्रतः ॥
प्रेतत्वमगमद्ब्रह्मा पञ्चमेन विना शिवे ॥”

वामन पुराणअनुसार अन्धक दैत्यको गदाको चोटले शिवको टाउकोबाट आएको रगतबाट उत्पन्न सात, (आठ) भैरवहरूपूर्वदिशाको रगतको धाराबाट ‘विद्याराजभैरव’, दक्षिण दिशाको रक्तधाराबाट ‘कालराजभैरव’, पश्चिमदिशाको रक्तधाराबाट ‘कामराजभैरव’, उत्तरदिशाको रक्तधाराबाट ‘सोमराजभैरव’, घाउबाट निस्कदा निस्कदैको रगतबाट ‘स्वच्छन्दराजभैरव’, पृथ्वीमा चुहेको रगतबाट ‘ललितराजभैरव’ र ‘विघ्नराजभैरव’ ।

“गदापातक्षताभूरि................................. ॥
विघ्नराजोऽष्टमः प्रोक्तो भैरवाष्टकमुच्यते ॥”

नेपालमा तेह्रथरी भैरव मुख्य छन् । तीमध्ये असिताङ्ग आदि आठ भैरवको एउटै स्वरूप मानिन्छ । ‘अष्टभैरव’ – यी अष्टभैरवका बेग्लाबेग्लै आठवटी शक्ति पनि छन् । जस्तै असिताङ्गकी ब्राह्मी, रुरुभैरवकी रौद्री अथवा चण्डकौमारी, क्रोधभैरवकी वैष्णवी, उन्मत्तभैरवकी वाराही, कपालभैरवकी इन्द्राणी, भीषणभैरवकी चामुण्डा, संहारभैरवकी महालक्ष्मी यी आठ शक्ति छन् । ‘कीर्तिमुख भैरव’ - यिनको हात पाउ शरीर हुँदैन, शिर मात्र हुन्छ र चारढोका बनाइएको शिवालयमा देख्न पाइन्छ । पशुपतिमा ६४ लिङ्गको प्राङ्गणमा पस्ने ढोका सामुन्ने मन्दिर छ । पशुपतिमा चढाइने बलिहरू यिनै कीर्तिमुख भैरवमा चढाइन्छ । राजा जालन्धरले पार्वतीलाई ल्याउन एक दैत्यलाई कैलासमा पठाए । त्यस कुराबाट रिसाएका शिवको निधारबाट अग्निको ज्वाला निस्क्यो । त्यस ज्वालाबाट विकराल जीव प्रकट भएर जालन्धर दैत्यलाई खान तम्सिदा शिवको कृपाले ज्यान बच्यो तर विकराल जीवलाई ज्यादै भोक लाग्दा शिवको आज्ञाले आफ्नो हात गोडा शरीर खाएपछि बचेको मात्र दिव्यरूप देवतामा परिणत हुँदा कीर्तिमुख भैरवको नामले प्रतिष्ठित भए । (शिव, स्कन्दपुराण) ‘क्षेत्रपालभैरव’ - शिवालयको दक्षिण ढोकाको केही तल दर्शन ढुङ्गाको चार कुना परेको प्रतीक माथि सजाइन्छ तर मूर्ति हुँदैन । शिवमा चढाइने भोगका परिकारहरू क्षेत्रपालको प्रतीकमाथि सजाइन्छ । एकथरी क्षेत्रपाल भैरवमूर्ति रूपमा पनि बनाइन्छ । नव निर्मित कीर्तिपुर नगरको रक्षाका लागि नगर वरिपरि र मध्य भागमा विभिन्न मातृका पीठहरू जमाएपछि लिच्छविकालीन राजा गुणकामदेवले बाग्मतीको उत्तरतटमा क्षेत्रपालभैरवस्वरूप पचली भैरवको पीठ जगाएको उल्लेख वंशावलिमा छ । त्यसै क्रमले देश दक्षिणपट्टि विष्णुमती तीरमा... ‘कङ्केश्वरी जगाई देशमा बाह्याभ्यन्तर गराई नवदुर्गा गण जगाई देश दक्षिणका मूल क्षेत्रपाल पचली भैरवकन जगाया...(भाषा वंशावली भाग २) । ‘महाकालभैरव’ - सनातनीका देवता भए पनि बौद्धतन्त्रले पनि आराध्यदेव मानेको छ । काठमाडौं यटखा टोलको अरवबहिलभित्रको मूर्ति रावासनमा नभई कमलमा बसेका छन् र अगलबगलमा दुई बौद्ध भिक्षु सेवारत देखिन्छन् । अरखबहिल विजेश्वरी महाविहार अन्तर्गत पर्ने पुरानो विहार हुँदा बौद्ध धार्मिक परम्परासित अभिसङ्गत गराइएको हुन सक्छ । काठमाडौं टुडिखेलस्थित महाङ्काललाई पाहाचह्रे (चैत कृष्ण चतुर्दशी)का दिन रातीमा तासको वस्त्रमा मानव अस्थिका गहनाहरू जडिएको वस्त्र पहिराइन्छ । घर वा मन्दिरको मूल ढोकाको छेउ अलिकति माथि खोपामा महाकाल भैरवका मूर्ति देखिन्छन् । ‘बटुकभैरव’ - यिनको सात्त्विक ध्यानमा बालरूप, राजसध्यानमा युवकरूप र तामस ध्यानमा डरलाग्दो दाह्रा भएका प्रौढरूपमा वर्णन छ । यी शिव जस्तो आशुतोष देवता मानिन्छन् । काठमाडौं इन्द्रचोकका आकाशभैरवलाई बटुकभैरवका रूपमा लिने गरेको पाइन्छ । ललितपुर लगनखेल स्थित बटुकभैरव साह्रै प्राचीन र प्रसिद्ध छन् । ‘व्याघ्रभैरव वा बाघभैरव’ - व्याघ्र भैरवलाई उपत्यकावासीहरूले बाघभैरव भन्दछन् । नेपालमा बाघभैरवको मन्दिर एक मात्र कीर्तिपुरमा छ । यसको पूरै मूर्ति बाघको आकारको छ । तर मुखमा जिभ्रो भने छैन । भनाइ छ - एक गोठालो केटो मूर्ति बनाउन सिपालु थियो । त्यसले बाघको मूर्ति बनाएर जिभ्रो बनाउन जङ्गली पात लिन जाँदा मूर्तिबाट भैरवनाथ प्रकट भए । त्यो मूर्ति गर्भमा राखी ठुलो मूर्ति बनाइयो । कीर्तिपुरमा बाघभैरव देवता अभिरक्षक मानिन्छन् । नुवाकोटका भैरव पनि बाघभैरव हुन् भन्ने कुरा इतिहासमा लेखिएको पाइन्छ । ‘विराटकाय भैरव’- यिनका ५ भेद छन् - पशुपतिका उन्मत्तभैरव, ज्ञानेश्वरका आनन्दभैरव, हनुमानढोकाका कालभैरव, लेले प्रदेशका टीकाभैरव र नुवाकोटका भैरव । आनन्दभैरव, ज्ञानेश्वर महादेवको प्रतिनिधिको रूपमा बालबालिकाको रक्षकको रूपमा लिइन्छन् । कालभैरव कान्तिपुरको उत्तरबाट ल्याई हनुमानढोकामा खडा गरिएका र नगरबासीहरूका पाप धर्मका साक्षी बनाइएका थिए । डरलाग्दा टीका भैरवलाई खास नेपालभरी कहलिएको भैरवको भूखण्डको संरक्षणको लागि प्रतिष्ठित गरिएको बुझिन्छ । ‘नुवाकोट भैरव’- नुवाकोटरक्षक अभिदेवताको रूपमा स्थापित भएका हुन् । ‘उन्मत्तभैरव’ - पशुपति दक्षिण मूर्तिको कोप हुँदा कोपशमनका निमित्त उन्मत्तभैरव स्थापना गरिएको वृत्तान्त वंशावलीमा पाइन्छ । यी गर्भाधानमा सहयोगी देवताका रूपमा स्वीकार गरिएका छन् । ललितपुरमा कुम्भेश्वर शिवमन्दिरको छानामा र पनौतीमा पनि उन्मत्त भैरव छन् । ‘भित्तिभैरव’ - यी भैरव मूर्तिरूपमा नभई चित्ररूपमा देवी मन्दिरका दायाँ बायाँ पछाडिका भित्तामा कलात्मक रूपमा पाइन्छन् । देउपाटनको जयवागीश्वरी मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिरको गाराको बाहिरी सतहमा त्रिभुजाकार प्वाल पारी गारो छेडेर भैरवको चित्र बनाइएको छ । यिनलाई सृष्टिको प्रतीक र विश्व ब्रह्माण्डको प्रतीकको रूपमा मानिएको छ । भित्तिभैरवको शरीरको पृष्ठमा शिरदेखि पाउसम्म नरचर्म ओढेकाले विश्वब्रह्माण्डको प्रतीक मानिएको हो । ‘कुम्भभैरव’ - आगमशास्त्रमा कुम्भभैरवलाई अमृतवमनी वा वमनी भनिन्छ । यिनको पूर्णाङ्ग नभई शिर मात्र देखिन्छ । नेवारी भाषामा ‘हाथा पाःद्यौ’ वा हाथा द्यौ भनिन्छ । माटो, काठ र धातु गरी तीन थरी कुम्भभैरवका रूप पाइन्छन् । माटाको मूर्तिमा पछाडिपट्टि माटोकै घ्याम्पा हुने हुँदा ‘कुम्भभैरव’ भनिएको हो । तर धातु वा काठको मूर्तिमा घ्याम्पा हुँदैन । पूजाको वेला भने अरू नै भाँडाको प्रयोग गरिन्छ । काठमाडौंमा कुम्भभैरव इन्द्रजात्रामा पचिमलका दिन राती पचली भैरवको जात्राको बाटोमा र पाहाँ चह्रे र बिस्केट आदि पर्वका दिन मात्र देखिन्छ । तीनै थरीको पूजा समान देखिन्छन् । पूजा समाप्त भएपछि यिनका मुखबाट नलीद्वारा जाँड रक्सी निकाली सोझै पिइने र भाँडामा अमृत मानी थापिने गरिन्छ । इन्द्रचोकको आकाशभैरव, इन्द्रचोकदेखि केही परका बाघभैरव र हनुमान ढोकाका श्वेतभैरव, इन्द्रजात्रा सप्ताहभर कुम्भभैरवको रूपमा देखापर्छन् । ‘चक्रभैरव’ - रातो मच्छिन्द्रनाथ (करुणामय)को रथ, भक्तपुरको महाभैरवको रथ सेतो मच्छिन्द्र (अवलोकितेश्वर)को रथ वा कुमारीको रथको चारै पाङ्ग्रामा तीनतीन नेत्र भैरवकै नेत्र बनाइएकोले पाङ्ग्रालाई भैरव मानेर पूजिने हुँदा चक्रभैरव भनिएको हो । रातो मच्छिन्द्रका चार पाङ्ग्राका भैरवका नाम – लोन्देकोन्द-रुद्रकुण्डका, हयग्रीव - बुङ्मतीका, अगवह - लुभुका र हयसिद्धि । त्यस्तै अरूका पाङ्ग्राका विभिन्न भैरवहरू रहेका हुन्छन् । चार चक्रभैरव बाहेक रथको अग्रभागमा रहनेलाई नागभैरव भनिन्छ । जात्राको पछिल्लो दिन पाँचै भैरवको पूजा गरिन्छ र पूजा समाप्त भएपछि पाँचै भैरवलाई पशुपतिमा बलि चढाइन्छ । यी भैरवहरू प्रसन्न रहे रथयात्रा निर्विघ्न हुन्छ भन्ने छ । ‘भीमसेनभैरव’ - खासगरी नेवार साहू महाजनले भीमसेनलाई व्यापार र समृद्धिका अधिदेव भैरव मानी पशुपक्षी बलि चढाई पूजा गर्ने, पसलमा भीमसेनका ससाना मूर्ति वा फोटो राख्ने र शनिवारका दिन व्यक्तिगत भीमसेनको पूजा गर्ने गर्दछन् । काठमाडौं, ललितपुर र दोलखाका भीमसेन प्रसिद्ध छन् । दोलखाका भीमसेनले काठमाडौं शहर हेर्न आउँदा काठमाण्डौका तान्त्रिकले उनलाई तन्त्रबद्ध गरी उनको एक अंश काठमाण्डौमै स्थापित गरेको कुरा वंशावलिमा उल्लेख छ । ‘अन्य भैरवहरू’- उपर्युक्त बाह्र भैरवहरू बाहेक - आकाशभैरव, भूतेश्वरभैरव, (काठमाडौं गणेश अगाडि), पचलीभैरव, विश्वरूपभैरव, कालचक्रभैरव, महिषभैरव, पद्मनाभभैरव र श्मशानभैरव आदि छन् । तर पाल्पा तानसेनदेखि एक कोश पश्चिम भैरवस्थान गाउँ विकास समितिमा रहेको कालभैरवको मूर्ति ज्यादै प्रसिद्ध छ । त्यहाँको त्रिशूल एशियाको सबभन्दा ठुलो त्रिशूल मानिन्छ ।


भैरवम् (नपुंसकलिङ्ग)


अर्थ−
डर ।



Correction: