महाशान्तिविधिः (पुंलिङ्ग)
अर्थ−
अमृत, अभय आदि निमित्तभेद रहेको विभिन्न विघ्नबाधा निवारणका लागि गरिने शान्तिविधि/ अथर्ववेदको नक्षत्रकल्पमा प्रथम शान्तिकृत्य कृत्तिका आदि नक्षत्रहरूको पूजा तथा होमद्वारा गरिने बताइएको छ । त्यसपछि अमृतादेखि अभयासम्मका महाशान्तिको निमित्तका भिन्नताले तीस प्रकारका कर्म बताइएका छन् । दिव्य, अन्तरिक्ष तथा भूलोकमा हुने उत्पातको शान्ति गरिने कर्म अमृत महाशान्ति; मरेकाको पुनर्जीवनका लागि गरिने वैश्वदेवी महाशान्ति; अग्निजन्य उत्पात शान्तिका लागि गरिने आग्नेयी महाशान्ति; बह्मवर्चस् (तेज) चाहनेका लागि वस्त्रशयन तथा अग्निज्वलनको शान्तिका लागि ब्राह्मी महाशान्ति; ग्रह, नक्षत्र आदिको भयबाट पीडित रोगीले रोगमुक्त हुन गरिने भार्गवी महाशान्ति; राज्यश्री चाहनेका लागि बार्हस्पत्य महाशान्ति; प्रजा, पशु, धन आदि चाहनेले गर्ने प्राजापत्य महाशान्ति; शुद्धि चाहनेका लागि सावित्री महाशान्ति; छन्द तथा ब्रह्मतेज चाहनेका लागि गायत्री महाशान्ति; सम्पत्तिका निमित्त तथा अभिचारद्वारा अभिचर्यमाण व्यक्तिका निमित्त आङ्गिरसी महाशान्ति; विजय, बल, पुष्टि आदि चाहने तथा परचक्रीको छेदनको कामना राख्नेका लागि ऐन्द्री महाशान्ति र अद्भुत विकारनिवारणका लागि माहेन्द्री महाशान्ति इत्यादि कर्म यस महाशान्तिअन्तर्गत पर्दछन् ।