संस्कृत-शब्दकोशः

यजुर्विद् यजुर्वेदी

यजुर्वेद

यजुर्वेदः (पुंलिङ्ग)


अर्थ−
वेदव्यासले वेदको विभाग गर्दा बनेका चार वेदमध्ये दोस्रो वेद । यसका शुक्ल र कृष्ण दुई संहिता छन् । घोडाको मुख भएका सूर्यबाट याज्ञवल्क्यले प्राप्त गरेको संहितालाई शुक्लयजुर्वेदवाजसनेयसंहिता भनिन्छ । यसमा सत्र शाखाका चालीस अध्याय छन्, प्रत्येक अध्याय कण्डिकामा विभक्त छन् । यसका मन्त्रसंख्या १९७५ छ । यसमा पच्चीस अध्याय पुराना र पन्ध्र अध्याय नयाँ भएका मानिन्छन् । यसमा दर्श पौर्णमास, अग्निष्टोम, वाजपेय, अग्निहोत्र, चातुर्मास्य, अश्वमेध, पुरुषमेघ आदि यज्ञको वर्णन छ । कृष्णयजुर्वेदलाई तैत्तिरीय संहिता भनिन्छ । यसमा ऋग्वेद र केही अथर्ववेदका मन्त्र छन् । यो सात अष्टक वा काण्डमा विभक्त छ । यसमा मन्त्रका साथसाथै ब्राह्मणको पनि मिश्रण छ र यसमा पनि अश्वमेघ, ज्योतिष्टोम, राजसूय, अतिरात्र आदि यज्ञको वर्णन छ । यजुर्वेदको स्वरूप - पहेँलो रङ्गको बोकाको जस्तो मुख भएको, दाहिने हातमा जपमाला, बायाँ हातमा वज्र लिएको छ ।

“अजास्यः पीतवर्णः स्याद्यजुर्वेदोऽक्षसूत्रधृक् ।। वामे कुलिशपाणिस्तु भूतिदो मङ्गलप्रदः ।।” (हेमाद्रि) अग्नि पुराणअनुसार यजुर्वेदका सात शाखा छन्- काण्वी, माध्यन्दिनी, कठी, माध्यकठी, मैत्रायणी, तैत्तिरीया र वैशम्पायनीया । यजुर्वेदकी शक्ति (पत्नी) को नाम धृति हो । हेमाद्रिको दानखण्डअनुसार - यजुर्वेदका ८६ भाग छन्, जसमध्ये चरका १२ छन्- चरका, आह्वरका, कठा, प्राच्यकठा, कापिष्ठलकठा, औपमन्यवा, आष्टककठा, चारायणीया, पारायणीया, वार्त्तान्तवेया, श्वेताश्वतरा र मैत्रायणीया । मैत्रायणीयाका ७ भेद - मानवा, वराहा, दुन्दुभा, छागेया, हारिद्रवीया, श्यामा र श्यामानीया । वाजसनेयका १६ भेद छन्- जावाला, औधेया, काण्वा, माध्यन्दिना, शातातपीया, तापायनीया, कापाला, पौण्ड्रवत्सा, आवटिका, पामावरिका (परमावटिका वा), पाराशरीया, वेनेया औधेया, गालवा, वैजवापा र कात्यायनीया । तैत्तिरीयका दुई भेद छन् - औक्ष्या वा ऋचेवा र खाण्डिकेया । खाण्डिकेयाका ५ भेद छन् - कालेया, बौधायनीया, हिरण्यकेशा, भारद्वाजा र आपस्तम्बा (हेमाद्रि दानखण्ड) । विष्णुपुराणअनुसार वैशम्पायनका १२ शिष्यहरूले ब्रह्महत्याको प्रायश्चित्त गरेको कारणबाट यजुःशाखाध्यायी र चरकाध्वर्यु कहलाए । ती शिष्यलाई वैशम्पायनले यजुर्वेदका २७ शाखा बनाएर पढाए । एक समय सबै ऋषिहरू जुटेर यस्तो नियम बनाए- जुन कुनै महामेरुमा रहेको भए पनि हाम्रो यो समाजमा सम्मिलित हुन्न भने सात रातभित्र त्यसलाई ब्रह्महत्या लाग्नेछ । यस कुरामा वैशम्पायन सम्मिलित नहुँदा उनको गोडाले लागेर उनको भानिजको मृत्यु भयो र शिष्यहरूलाई ब्रह्महत्याको प्रायश्चित्तको व्रत गर्ने आज्ञा दिइयो, यसमा ब्रह्मरातको छोरा याज्ञवल्क्यले

“गुरु! अरू ब्राह्मणहरू अल्पतेजका छन्, यिनलाई कष्ट दिने जरुरत छैन, म एक्लै अनुष्ठान गर्छु” भन्दा ब्राह्मणको अपमान गर्ने तैंले मबाट पढेको विद्या त्याग, तँजस्तो चेलाको मलाई जरुरत छैन भने । तर याज्ञवल्क्यले भने

“गुरु! मैले भक्तिवश यसो भनेको हुँ । ल भैगयो, तपाईले पढाएको विद्या लिनुस्” भनी त्यागेर यजुर्वेद प्राप्त गर्न सूर्यको उपासना गरे त्यस उपासनाबाट प्रसन्न भएका सूर्यले घोडाको रूप लिएर उनलाई यजुर्वेद दिए, जुन वैशम्पायनले पनि जान्दैनथे । त्यसरी सूर्यबाट प्राप्त यजुर्वेदलाई वाजसनेयसंहिता भनिन्छ । त्यस वाजसनेय संहिताका कण्व आदि १५ शाखाहरू छन् । शुक्ल यजुर्वेद काण्वसंहितामा ४० अध्याय र २२२० मन्त्र छन् । माध्यन्दिन संहितामा ४० अध्याय र १९७५ मन्त्र छन् । तैत्तिरीय संहितामा ७ काण्ड,
४४ प्रपाठक,
६३१ अनुवाक र १८०० मन्त्र छन् कठसंहितामा १८ स्थानक र २६४ मन्त्र छन् । मैत्रायणीसंहितामा ४ काण्ड,
४८ प्रपाठक र ६५४ मन्त्र रछन् । (हृदयादर्श) ।



Correction: