संस्कृत-शब्दकोशः

रत्नेन्द्र रथकट्या

रथ

रथः (पुंलिङ्ग)


निष्पत्ति− रमु (क्रीडायाम्) - "क्थन्" (उ० २-२)
प्रयोग− "शनैरनीयन्त रयात्पतन्तो रथाः क्षितिं हस्तिनखादखेदैः"
उल्लेख− माघ० ३-६८

अर्थ−
१. लडाकु सिपाही,
२. गोडा/खुट्टा,
३. अङ्ग/शरीर,
४. नरकट,
५. साधनको रूख,
६. विहार गरिने ठाउँ,
७. बुद्धिचालको उँट गोटी,
८. लडाइँ गर्दा वा एक ठाउँबाट अर्को ठाउँमा यातायात गर्दा उपयोग गरिने दुई, चार, छ वा आठ पाङ्ग्रा भएको काठ वा धातुको घोडाले तानिने सवारी साधनविशेष/बग्गी । कपडाले छोपेको रथ– ‘वस्त्ररथः’ (पुं.), कम्बलले छापेको रथ – ‘काम्बलः’ (पुं.), सेतो कम्बलले छोपेको रथ – ‘पाण्डुकम्बली’ (पुं.)/(‘पाण्डुकम्बलिन्’), हात्तीको छालाले छोपेको रथ – ‘द्वैपः’(पुं.), बाघको छालाले छोपेको रथ– ‘वैयाघ्रः’ (पुं.), रथको थुप्रो –‘रथ्या/रथकट्या’ (स्त्री.), दुई घोडाले तान्ने रथ – ‘युग्यः’ (पुं.), चार घोडाले तान्ने (चौघडी) रथ– ‘चतुर्वाजिरथः’ (पुं.), रथमा जोतिने घोडा वा रथको एक भाग– ‘रथ्यः’ (पुं.), रथ हिँडाउने बाटो– ‘रथ्या’ (स्त्री.), रथ - सैर गर्ने कामको रथ– ‘पुष्यरथः’ (पुं.), लडाइँको रथ– ‘शताङ्गः’ (पुं.), रथको अगाडिको भाग– ‘यानमुखम्’ (न.), रथलाई शत्रुको प्रहारबाट बचाउन छोपिने च्यादर– ‘वारुथम्’ (न.), रथको पाङ्ग्रो– ‘रथचक्रम्’ (न.), रथको पाङ्ग्राको नाह– ‘पिण्डिका/नाभिः’ (स्त्री.), रथका पाङ्ग्राको पुठ्ठी– ‘नेमिः’ (स्त्री.)/ प्रधिः (पुं.), रथको पाङ्ग्रा बाहेकको भाग– ‘अपस्करः’ (पुं.), रथको धुरा– ‘रथाक्षः’ (पुं.), रथमा बसेर लडाइँ गर्ने– ‘रथीशः’ (पुं.), रथमा सारथि बस्ने ठाउँ – ‘रथोपस्थः’ (पुं.), रथ राखिने ठाउँको अधिकारी – ‘रथकल्पकः’ (पुं.), रथको झट्का वा हल्लाइ- ‘रथक्षोभः’ (पुं.), रथमा रथी बस्ने ठाउँ – ‘रथनीडः/रथोद्वहः’ (पुं.), रथलाई अरू रथको धक्काबाट बचाउन लगाइने काठ वा फलाम –‘ रथगुप्तिः’ (स्त्री.), रथको सामान – ‘रथबन्धः’ (पुं.), रथमा झन्डा टाँगिने डन्डा – ‘रथशक्तिः’ (स्त्री.), रथको तल्लो भागमा रहने काठ, जसको आधारमा पाङ्ग्रा रहन्छन्- ‘अनुकर्षः’ (पुं.), रथ बनाउने कारिगर- रथकारः (पुं.), रथमा बसेर गरिने लडाइँ - रथयुद्धम् (न.), रथको घोडा- रथवाहः (पुं.), काठको रथ- द्रोणः (पुं.), स्वर्गको रथ - विजय (पुं.), सूर्यको रथ – ‘एकचक्रः’ (पुं.), अश्विनीकुमारको रथ-‘त्रिचक्रः’ (पुं.), अर्जुनको रथ – ‘नन्दिघोषः’ (पुं.), बृहस्पतिको रथ – ‘नीतिघोष’ (पुं.), पहिले जरासन्धको रथ जरासन्धको मृत्युपछि श्रीकृष्णले लिनुभएको रथ- ‘सौदर्यवान्’ (पुं.) रथको अगाडि निस्केको काठ, जसमा घोडा जोडिएको हुन्छ – ‘कूबरः’ (पुं./न.) ।



Correction: