रसनिष्पत्तिः (स्त्रीलिङ्ग)
अर्थ−
रसास्वाद / विभाव, अनुभाव, सञ्चारिभाव र स्थायिभाव मिलेर हुने रसास्वादको प्रक्रिया । ‘विभावानुभावव्यभिचारिसंयोगाद् रसनिष्पतिः’ । (भरत) । विभाव, अनुभाव र व्यभिचारिभावको स्थायी भावसँग सम्बन्ध हुँदा रसको निष्पत्ति हुन्छ । यसमा प्रयुक्त संयोग र निष्पत्ति शब्दको अर्थलाई लिएर ठुलो मतभेद छ । भट्ट लोल्लटले संयोगको अर्थ विभावको स्थायिभावसँग उत्पाद्य - उत्पादकभाव सम्बन्ध, अनुभावको स्थायिभावसँग गम्यगमकभाव सम्बन्ध र व्यभिचारिभावको स्थायिभावसँग पोष्यपोषकभाव सम्बन्ध भन्ने गरेका छन् । त्यस्तै निष्पत्तिको अर्थ क्रमशः उत्पत्ति, अनुमिति र पुष्टि भन्ने गरेका छन् । यिनको मत काव्यशास्त्रमा उत्पत्तिवादले प्रसिद्ध छ । श्रीशङ्कुकले संयोगको अर्थ अनुमाप्य अनुमापक भाव सम्बन्ध र निष्पत्तिको अर्थ अनुमिति गरेका छन् । यिनको वादलाई काव्यशास्त्रमा अनुमितिवाद भनिन्छ । भट्ट नायकले संयोगको अर्थ भोज्यभोजकभाव सम्बन्ध र निष्पत्तिको अर्थ भुक्ति गरेका छन् । यिनको मतलाई भुक्तिवाद भन्दछन् । अभिनवगुप्तले संयोगको अर्थ व्यङ्ग्यव्यञ्जकभावसम्बन्ध र निष्पत्तिको अर्थ अभिव्यक्ति गरेको देखिन्छ । यिनको सिद्धान्तलाई अभिव्यक्तिवाद भनिन्छ । यसको विस्तृत विवरण काव्यप्रकाश, साहित्यदर्पण, ध्वन्यालोकको लोचन टीका आदि ग्रन्थमा हेर्न सकिन्छ ।