संस्कृत-शब्दकोशः

राजहार राजाग्नि

राजा

राजा (पुंलिङ्ग)


अर्थ−
१. यज्ञ,
२. चन्द्रमा,
३. इन्द्र,
४. युधिष्ठिरको एक नाम,
५. क्षत्रिय,
६. धनी वा समृद्धशाली व्यक्ति,
७. स्वामी/ मालिक,
८. प्रेमपात्र,
९. एक उपाधि, जुन भारतमा अङ्ग्रेजको राज्यकालमा ठुलो रइस, जमिनदार वा आफ्नो कृपापात्रलाई दिइन्थ्यो,
१०. कुनै देश वा जातिको सर्वोच्च शासक, जुन त्यस देशको वंशपरम्पराबाट जन ता वा देशहितको काममा सदैव तत्पर रहेको हुन्छ । असल राजाले शासन गरिएको देश– ‘राजन्वान्’ (पुं.) ‘(राजन्वत्)’, राजाको वंशमा पैदा भएको –‘ राजवंश्य’ (वि.), राजाको अधिकारमा – ‘राजसात्’ (अ.), राजा हुने इच्छा गर्छ – ‘राजीयति’ (ना.धा.), राजालेझैँ गर्छ –‘ राजीनति’ (ना.धा.), राजा बन्छ – ‘नृपायते’, राजाको विनोद वा खेलबाड गर्ने मानिस – ‘यौक्तिकः’ (पुं.) । राजाका मित्रहरू पाँचथरी हुन्छन् - सहार्थ, भजमान, सहज, कृत्रिम र धर्मात्मा; ‘सहार्थः’ -मिलेर शत्रुसँग लड्दा जितेको वस्तु आधा आधा बाँडेर लिने, ‘भजमानः’ - परम्परादेखि दोस्ती भएको, ‘सहजः’ - बालककालदेखि सङ्गत भएको, ‘कृत्रिमः’- धन जन आदि दिएको बनाएको, ‘धर्मात्मा’ - धर्मको विचार गर्दै बनाएको । ‘राजाका व्यसनहरू’ - दश कामज र आठ क्रोधज गरी राजाका अठार व्यसन छन्- सिकार, जुवा, दिनमा सुत्नु, परनिन्दा, ज्यादा स्त्रीसेवन, मद, बाजा, गीत, नाच, मदिरापान, छुल्याइँ, फजुल काममा साहस, द्रोह, डाह, अरूलाई नसहनु, धन जरिवाना, नराम्रो वा रूखो बोली र कठोर सजाय । राजाका नीतिका छ गुणहरू –‘ सन्धि’ - आफूभन्दा बलियोसँगको मित्रता, ‘विग्रहः’ - आफू समानको बलियोसँग लडाइँ, ‘यानम्’- शत्रु दुर्बल हुँदा आक्रमण, ‘आसनम्’- आफू दुर्बल हुँदा आक्रमण गर्ने शत्रुबाट गरिने आत्मरक्षा, ‘द्वैधीभावः’– आक्रमण गर्ने शत्रुमाथि आधा सेनाले हमला गर्नु र आधा सेनाले आत्मरक्षा गर्नु,‘ समाश्रयः’- आक्रमणकारीसँग पीडित भएर कुनै मित्रराष्ट्रसँग सहायता लिएर लड्नु । ‘राजाका पाँच प्रकृतिहरू’- मन्त्री, राष्ट्र, दुर्ग (किल्ला), ढुकुटी वा धन र दण्ड/सजाय । यी पाँच प्रकृति आफूतर्फको र यिनै पाँच प्रकृति शत्रुतर्फको समेत गरी राजाका दशवर्ग मानिन्छन् । ‘राजाका द्वादशमण्डल’- शत्रु राजा, मित्र राजा, शत्रुको मित्रराजा, मित्रको मित्रराजा, शत्रुको मित्रको मित्र राजा, आफ्नो पृष्ठभागको लागि स्वयं तयार भएको राजा, शत्रुको पृष्ठपोषणको लागि स्वयं उपस्थित राजा, आफ्नो पक्षमा बोलाउँदा आउने राजा, शत्रु पक्षले बोलाउँदा जाने राजा, स्वयं जित्न चाहने शक्तिशाली र उदासीन राजा । राजाको दरबार– ‘प्रासादः’ (पुं.), राजाको साततले दरबार –‘विमानम्’ (न.)/‘विमानः’ (पुं.) ।



Correction: