राधा (स्त्रीलिङ्ग)
अर्थ−
१ समृद्धि,
२. सफलता,
३. बिजुली,
४. विशाखा नक्षत्र,
५. विष्णुक्रान्ता फूल,
६. प्रेम,
७. वैशाखको पूर्णिमा,
८. अमला,
९. धृतराष्ट्रको सारथि अधिरथकी पत्नी, जसले कर्णलाई पोसेकी थिइन्,
१०. एक वर्णवृत्त, जसको प्रत्येक चरणमा क्रमैले रगण, नगण, यगण, यगण र एक गुरु हुन्छन्,
११. कृष्णकी प्यारी पत्नी एक गोपिनी, जसका पिताको नाम वृषभानु, माताको नाम कीर्तिमती थियो । वृषभानुको पूर्वजन्ममा कीर्तिमतीको कलावती नाम थियो र ती नृग राजाकी कान्छी छोरी हुन् । ब्रह्मवैवर्त पुराणअनुसार राधा - पितृहरूकी मानसी पुत्री कलावतीको मनुवंशीय राजा सुचन्द्रसँग विवाह भयो । सुचन्द्र व्रजका राजा सुरभानु भए । सुरभानुकी रानी पद्मावतीबाट वृषभानु जन्मिए । कान्यकुब्जका राजा भनन्दनको यज्ञकुण्डबाट कलावती उत्पन्न भइन् । राजा भनन्दनले कलावतीलाई आफ्नी रानी मालावतीलाई दिए । पछि कलावती र वृषभानुको विवाह भयो, यिनबाट राधाको जन्म भयो । ब्रह्मवैवर्त पुराणमा राधा, ‘रेफ’ = करोडौँ जन्मको पाप र शुभाशुभ कर्मबाट छुट्कारा दिने,‘आ’ = गर्भवास, मृत्युरोग नाश गर्ने,‘ध’ =आयुको हानि र ‘आ’ = भव बन्धबाट छुटाउने ।‘रेफ’ = कृष्णमा भक्ति दिने, ‘आ’ = सर्ववाञ्छित, सदानन्दस्वरूप तथा सम्पूर्ण सिद्धि समुदायरूप ईश्वरप्राप्ति गराउने, ‘धा’ = हरिको झैँ तेजोराशि, दानशक्ति, योगशक्ति, योगमति र सधैँ हरिको सम्झना गराउने ।