रुद्राक्षः (पुंलिङ्ग)
अर्थ−
पुराणअनुसार त्रिपुरासुरलाई मार्न अघोरास्त्रको चिन्तन गर्दा एक हजार दिव्यवर्ष आँखा हेरेर बसिरहँदा शिवका सूर्य, चन्द्रमा र अग्नि रूप तीन आँखादेखि निस्केको आँसुबाट उत्पन्न रूख वा त्यसको फल, जुन सूर्यरूप आँखाबाट १२, चन्द्ररूप आँखाबाट १६ र अग्निरूप आँखाबाट १० गरी ३८ मुखको रुद्राक्षको उत्पत्ति भयो । यसमध्ये सेतो रङ्गको ब्राह्मण, रातो रङ्गको क्षत्रिय, सेतो रातो रङ्ग मिसिएको वैश्य र कालो रङ्गको शूद्र गरी यो चार वर्णको मानिएको छ । अमला जत्रो रुद्राक्ष उत्तम, बयर जत्रो मध्यम र चनाजत्रो रुद्राक्ष अधम मानिएको छ । ३८ मुखसम्मको रुद्राक्ष भए तापनि एकदेखि चौध मुखसम्मका रुद्राक्षको विशेष महिमा छ । यसको पाँच पङ्खडीको वैशाख जेठमा फुल्ने सानो सेतो फूल हुन्छ । बाहिर बाक्लो बोक्रो भएको डल्लो फल हुन्छ र त्यसको फूल शरद् ऋतुमा छिप्पिन्छ । २-१/२ अङ्गुल चाक्लो ३१/२ अङ्गुल लामो तिखारिएको टुप्पाको पात । ३-१/२ हात अग्लो रूख हुन्छ । फलको बोक्रो पानीमा भिजाएर फालेपछि भित्र कोत्र्याहा परेको सारो भागको गेडा वा बियाँ निस्कन्छ, जसको माथिपट्टि केही चुच्चो र तलतिर थेप्चो रहन्छ । उक्त चुच्चो भागलाई मुख र थेप्चो भागलाई पुच्छर भनिन्छ । सो मुख र पुच्छरको बीचमा ठाडो चर आदि जस्तो देखिने भाग वा रूपलाई एक मुखे, दुई मुखे, तीन मुखे भन्ने गरिन्छ । जति जति चर आदि देखियो त्यति त्यति मुख मानिन्छ । रुद्राक्षका चार भेद - इन्द्राक्ष, भद्राक्ष, रुद्राक्ष र सहस्राक्ष ।