वत्सलः (पुंलिङ्ग)
अर्थ−
१. फुस घाँस,
२. कसै-कसैको मतमा साहित्यमा मानिएको दसौँ रस । छोराछोरी आदि यसका आलम्बन विभाव हुन् । तिनका क्रियाकलाप - विद्या, शौर्य आदि उद्दीपन विभाव हुन् । आलिङ्गन गर्नु, अङ्ग स्पर्श गर्नु, शिरमा चुम्बन गर्नु, रोमाञ्चित हुनु, आँसु खसाल्नु आदि अनुभाव हुन् । अनिष्टको शङ्का, हर्ष, गर्व आदि यसका व्यभिचारी भाव हुन् । गौरी आदि सोह्र मातृकाहरू यसका देवता हुन् । सेतो र पहेँलो मिसिएको यसको रङ्ग हो । वात्सल्य स्नेह यसको स्थायिभाव हो- ‘वत्सलश्च रस इति तेन स दशमो रसः ।’
“स्फुटं चमत्कारितया वत्सलञ्च रसं विदुः ।। स्थायी वत्सलतास्नेहः पुत्राद्यालम्बनं मतम् ।। उद्दीपनानि तच्चेष्टा विद्याशौर्योदयादयः ।। आलिङ्गनाङ्गसंस्पर्शशिरश्चुम्बनमीक्षणम् ।। पुलकानन्दवाष्पाद्या अनुभावाः प्रकीर्तिताः ।। सञ्चारिणोऽनिष्टशङ्काहर्षगर्वादयो मताः ।। पद्मगर्भच्छविर्वर्णो दैवतं लोकमातरः ।।” (साहित्यदर्पण)
वत्सल (विशेषण)
अर्थ−
१. सन्तानमा प्रेम भएको,
२. आफूभन्दा सानोमा प्रेम गर्ने ।