वास्तुशास्त्रम् (नपुंसकलिङ्ग)
अर्थ−
‘वास्तु’ भनेको बसोवास गर्ने ठाउँ हो, त्यसको निर्माणसम्बन्धी शास्त्र । यसअन्तर्गत भूमिसम्बन्धी, नगर, घर, पोखरी, कुवा, तलाउ बगैँचा, वृक्षारोपण आदि अनेक विषय पर्छन् । वास्तु - अशुभ भएमा गृहस्थलाई अनेक आपत्ति हुने र शुभ भएमा असल हुने कुरा वास्तुशास्त्रमा उल्लेख छ । वास्तुशास्त्रको सम्बन्ध स्थापत्य कलासँग छ । ऋग्वेद र अथर्ववेदमा उल्लेख छ र वास्तुराजवल्लभ तथा समराङ्गणसूत्रधार भन्ने दुई ग्रन्थ यसका महत्त्वपूर्ण छन् । यसको विष्णुधर्मोत्तर, अग्नि, गरुड, मत्स्य पुराणहरूमा वर्णन गरिएको छ । यसका आचार्य वा विशेषज्ञमा भृगु, अत्रि, वसिष्ठ, विश्वकर्मा, मय, नारद, अग्निजित्, शिव, इन्द्र, ब्रह्मा, कुमार, नन्दीश्वर, शौनक, गर्ग, वासुदेव, अनिरुद्ध, शुक्र तथा बृहस्पति यी अठारलाई मानिन्छ, जसमध्ये देवताको विश्वकर्मा र दानवमा मयको विशेष प्रसिद्धि छ । मत्स्यपुराणअनुसार अन्धकासुरलाई मार्ने वेला शिवको निधारबाट पृथ्वीमा चुहेको पसिनाको थोपाबाट डर लाग्दो मुखको पुरुष प्रकट भयो र अन्धकगणहरूको रगत पियो । तर त्यसबाट नअघाउँदा भोकले तीनै लोकलाई खान आँट्दा शिव आदि देवताले त्यसलाई पृथ्वीमा सुताएर वास्तुदेवताको रूपमा प्रतिष्ठित गरियो र त्यसको शरीरमा सबै देवताहरूले बसोवास गर्दा वास्तुपुरुष वा वास्तुदेवता भन्ने नामले प्रसिद्ध भयो र देवताहरूद्वारा यसमा गृहादि निर्माण, वैश्वदेव बलि र यज्ञको वेला पूजित हुने वर दिएर खुसी गराइयो । पुराणमा वास्तुदेवताको शरीरमा ६४ तथा ८१ देवता छन् भने छ । यसै आधारमा वास्तुचक्र बन्छ, जसमा शिखी, जयन्त, पर्जन्य, सूर्य, इन्द्र वा आदि वास्तुमण्डलमा रहेका देवताहरूको पूजा हुन्छ । जसबाट कुनै विघ्न बाधा नहुने र सुख - शान्ति हुन्छ भन्ने छ ।