वैवस्वतमनुः (पुंलिङ्ग)
अर्थ−
विश्वकर्माकी छोरी संज्ञाबाट सूर्यका तीन सन्तान भए - वैवस्वतमनु, यमराज र कालिन्दी । सूर्यको तेज सहन नसक्दा संज्ञाले आफ्नो शरीरको छाया निकालेर भनिन्- जसरी मैले सूर्यको र यी छोराछोरीको सेवा गर्छु, त्यसरी नै तिमीले पनि सेवा गर । म अब माइत जान्छु । छायाले भनिन् - जबसम्म सूर्यले मलाई लुछ्ने वा सराप्ने गर्दैनन्, तबसम्म तिम्रो कुरा भन्ने छैन, तिम्रो भनाइअनुसार गर्नेछु । यता सूर्यले छायालाई संज्ञा सम्झेर छायाबाट तीन सन्तान जन्माए - सावर्णिमनु, शनि र तपती । अनि छायाबाट आफ्नो सन्तान र संज्ञाको सन्तानमा पक्षपात भयो र सहन नसक्दा यमराजले लात्तीले हान्न चाहे । छायाले यमको गोडा झरोस् भनी सरापिन् । यो कुरा यमले सूर्यलाई सुनाउँदा सूर्यले छायासँग संज्ञाको कुरा सोधे । सूर्यले कुरा लुकाउने भनी सराप्न लाग्दा छायाले संज्ञाको कुरा बताइन् र सूर्य त्वष्टा (विश्वकर्मा) कहाँ गएर संज्ञालाई खोज्दा भेटेनन् । त्यस वेला संज्ञा घोडीको रूप लिएर उत्तरकुरु देशमा सूर्यको तेज साम्य होस् भनी तपस्या गर्दै थिइन् । सूर्यले ध्यानबाट यो कुरा थाहा पाए । अनि विश्वकर्मालाई आफ्नो तेज काट्न भने, विश्वकर्माले सूर्यको तेज १५ भाग लगाई काटेर साम्य गराए, काटिएको तेज - ऋङ्मयको पृथ्वीरूप, यजुर्मयको अन्तरीक्षरूप र साममयको स्वर्गलोकको रूपमा परिणत भयो । त्यस्तै शिवको त्रिशूल, विष्णुको चक्र, वसुगणको शङ्कु, अग्निको दाहक शक्ति, कुबेरको पालकी र अरू देवताको अस्त्रशस्त्र बनाए । अनि सूर्य उत्तरकुरुमा घोडाको रूप लिएर गए र घोडी भएकी संज्ञाबाट तीन सन्तान जन्माए - नासत्य, दस्त्र (अश्विनीकुमार) र घोडामा चढेको ढाल, तरबार भिरेको, कवच पहिरेको रेवन्त नामको छोरो । अनि सूर्यले आफ्नो सौम्यरूप संज्ञालाई देखाउँदा संज्ञा खुसी भइन् र सूर्यले संज्ञालाई आफ्नो ठाउँमा ल्याए । सूर्य (विवस्वान्) बाट जन्मेका संज्ञाको जेठो छोरालाई ‘वैवस्वत मनु’, सूर्यको संज्ञाबाट जन्मेको दोस्रो छोरालाई ‘यमराज’ र संज्ञाकी छोरी कालिन्दीलाई कलिन्द देशबाट बग्ने ‘यमुना नदी’, घोडी रूपबाट जन्मेका दुई छोरा ‘अश्विनीकुमार’लाई देवताको वैद्य, ‘रेवन्त’लाई गुह्यकहरूको अधिपति तथा छायाको जेठा छोरालाई सावर्णिमनु बनाए ।