शङ्कराचार्यः (पुंलिङ्ग)
अर्थ−
शङ्कराचार्य भनी धेरै महात्माको नाम छ, तर शङ्कराचार्य भन्दा झट्ट अद्वैत सम्प्रदायका प्रचारक महायोगी, महान् विद्वान् तथा परमभक्त जगद्गुरु शङ्कराचार्य वा आदिशङ्कराचार्य नामले प्रसिद्ध महापुरुषलाई सम्झिइन्छ । यिनको जन्म ईस्वी सन् ६६८ वा ७२० मा भएको देखिन्छ । पिताको नाम ‘शिवगुरु’, माताको नाम ‘सुभद्रा’ वा ‘विशिष्टा’, गुरुको नाम ‘गोविन्द भगवत्पाद’, जन्मतिथि ‘वैशाखशुक्लपञ्चमी’, जन्मस्थान दक्षिण भारतको केरला प्रदेशको पूर्णा नदीको तट ‘कलादि’ नामको गाउँ हो । मतान्तरमा सन् ७८८ ई. मा केरलको कालटी गाउँमा एक शिवभक्त नंबूदरी वंशमा यिनको जन्म भएको हो । यिनी सन् ८२० मा केदारनाथमा ब्रह्मलीन भएका हुन् । शङ्कराचार्यका प्रसिद्ध चार पीठहरू- पूर्वमा ‘गोवर्धनमठ’, दक्षिणमा - ‘शृङ्गेरीमठ’, पश्चिममा- ‘शारदामठ’ र उत्तरमा – ‘ज्योतिर्मठ’ ।