षट्कर्म (नपुंसकलिङ्ग)
अर्थ−
१. झगडा,
२. झन्झट,
३. ब्राह्मणको जीविकाका छ वटा कर्म -उन्छ (शालि काटेको खेतमा छरिएको अन्न बटुल्नु), प्रतिग्रह (दान लिनु), भिक्षा (भीख माग्नु), वाणिज्य (व्यापार गर्नु), पशुपालन र कृषि ।
“उञ्छं प्रतिग्रहो भिक्षा वाणिज्यं पशुपालनम् ॥
कृषिकर्म तथा चेति षट्कर्माण्यग्रजन्मनः ॥”
(शब्दकौस्तुभ) पढाउनु, पढ्नु, यज्ञ गर्नु, यज्ञ गराउनु, दान गर्नु र दान लिनु पनि ब्राह्मणका कर्म हुन् –
“अध्यापनमध्ययनं यजनं याजनं तथा ॥
दानं प्रतिग्रहश्चेति षट्कर्माणि द्विजस्य हि ॥”
तन्त्रशास्त्रअनुसार शान्ति, वशीकरण, स्तम्भन, विद्वेष, उच्चाटन र मारण द्विजातिका कर्म हुन् । हठयोगअनुसार धौति, वस्ती, नेति, नौलिकी, त्राटक र कपाल भाति द्विजातिका कर्म मानिन्छन् –
“धौतिर्वस्तिस्तथा नेतिर्नौलिकी त्राटकं तथा ॥
कपालभातिश्चैतानि षट् कर्माणि समाचरेत् ॥”
(घेरण्डसंहिता) । स्मृतिअनुसार स्नान, सन्ध्या, जप, होम, स्वाध्याय, देवताको पूजा, वैश्वेदेव तथा अतिथि सत्कार यी ६ द्विजातिले गर्नुपर्ने कर्म हुन्-
“स्नानं सन्ध्या जपो होमः स्वाध्यायो देवतार्चनम् ॥
वैश्वदेवातिथेयश्च षट्कर्माणि दिने दिने ॥”
(पराशरः)।