प्रोक्षणीपात्रम् (नपुंसकलिङ्ग)
अर्थ−
१. यज्ञमा होम गरिने अग्निको उत्तरतिर प्रणीतादेखि अगाडि रहने सिप्लिकानको काठको पात्रविशेष, जुन बाह्र अङ्गुल लामो, चार अङ्गल चौडा, चार अङ्गुल गहिरो, एक अङ्गुलको बीट भएको बाटुलो छाँटको र अगाडितिर कमलको कोपिलोझैँ आकार परेको हुन्छ - यो हरिहरादिको मत हो । अरूको मतमा यो मिहेलको काठको एक बित्ता लामो हाँसको ठूँडझैँ परेको चार अङ्गुल गहिरो हुनुपर्छ,
२. पूजा गर्दा अर्घ र पाद्यपात्रको बीचमा राखिने पात्र, जसमा पूजा गरेर अर्घोदक हालेर प्रोक्षण गरिन्छ । भनाइ छ- ‘वारणं द्वादशाङ्गलदीर्घं करतलमितखातं कमलमुकुलाकृति भवतीति हरिहरादयः’ (पुरश्चर्यार्णव) । अन्यमते-
“वैकङ्कतं पाणिमात्रं प्रोक्षणीपात्रमुच्यते ॥
हंसमुखप्रसेकं च त्वग्विलं चतुरङ्गलम् ॥”
(संस्कारदीपक) ।