ब्रह्म (नपुंसकलिङ्ग)
अर्थ−
१. परमेश्वर । ज्ञानयोगीले परमेश्वरलाई ब्रह्म भन्छन् । ब्रह्म अक्षररूप परमात्माबाट प्रकट भएको हो । ब्रह्म सत्य, ज्ञान र आनन्दस्वरूप छ । विज्ञान र आनन्द नै ब्रह्म हो । जुन साक्षत् अपरोक्ष (प्रत्यक्ष) छ त्यो ब्रह्म हो । ब्रह्म कलारहित क्रियारहित र शान्त छ । ब्रह्मलाई कुनै पनि विचार वा शब्दद्वारा भन्न सकिंदैन । ब्रह्मलाई परमात्मा भनिन्छ । ‘बृहत्’ - बढ्ने वा ठुलो हुने हुँदा ब्रह्म हुन जान्छ । ‘ब्रह्माक्षरसमुद्भवम्’ (श्रीमद्भगवद्गीता ३ । १५),‘सत्यं ज्ञानमनन्तं ब्रह्म’ (तैत्तिरीयोपनिषद् २ । १), ‘विज्ञानमानन्दं ब्रह्म’ (बृहदारण्यकोपनिषद् ३ । ९ । २८), ‘यत्साक्षादपरोक्षाद् ब्रह्म य आत्मा सर्वान्तरः’ (बृहदारण्यकोपनिषद् ३ । ४ । १),‘निष्कलं निष्क्रिय शान्तम्’ (माण्डूक्योपनिषद्. ६ । १९), ‘यतो वाचो निवर्तन्ते’ (तैत्तिरीयोपनिषद् २ । ४ । ९), ‘ब्रह्मपरमात्मा’ (बृहदारण्यकोपनिषद् १४९ को शाङ्करभाष्य), ‘बृहत्वाद् बृंहणत्वाच्च तस्माद् ब्रह्मेति शब्दितः’ (हरिवंश८८ । ४६),
२.स्तुति गर्ने ऋचा,
३.धर्मग्रन्थ,
४. वेद,
५. ॐकार,
६. तपस्या,
७. कीर्ति,
८. मोक्ष,
९. वेदको ब्राह्मण भाग,
१०. धन,
११ ब्राह्मण,
१२. ऐश्वरीय शक्ति,
१३. ईश्वरसम्बन्धी भक्ति,
१४. ब्रह्मविद्या,
१५. आत्मा वा चैतन्य,
१६. ब्रह्मप्रेत वा ब्रह्मराक्षस,
१७. एकको सङ्ख्या,
१८. फलित ज्योतिषका २७ योगहरूमध्ये पच्चिसौँ योग,
१९. सङ्गीतमा तालका चार भेदहरूमध्येको एक भेद ।