मथुरा (स्त्रीलिङ्ग)
अर्थ−
यमुनाको किनारमा रहेको कृष्णको जन्मस्थल । सात पुरीहरूमध्ये एक पुरी । मथुरावृन्दावन ८४ कोशको छ र मथुरा केन्द्रमा पर्छ । मथुराको प्राचीन नाम मधुरा वा मधुवन हो । यहाँ पहिले ध्रुवले तपस्या गरेका थिए, त्यस वेला मधुवन नाम थियो । मधु नामको दैत्यले पछि यहाँ मधुरा वा मधुपुरी नामको शहर बसायो । उसको छोरा लवणासुरलाई रामचन्द्रको आज्ञाअनुसार शत्रुघ्नले मारेर आफ्नो राजधानी बनाए । द्वापरयुगमा यो शूरसेनवंशी राजाहरूको राजधानी बन्यो । मथुराको प्रशंसा - मेरो मथुरामण्डल बीस योजनको छ । यसभित्रका तीर्थहरूमा स्नान गर्नाले मानिसहरू सब पापबाट मुक्त हुन्छन् । जहाँ ब्रह्मज्ञान एवं भक्तियोग सदा अटल रहन्छ त्यस ठाउँलाई मथुरा भनिन्छ । अर्थात् ब्रह्मज्ञान र भक्तिद्वारा संसार मथिने हुँदा यसलाई मथुरा भनिएको हो । भनाइ छ-
“विंशतिर्योजनानां च माथुरं मम मण्डलम् ॥
यत्र तत्र नरः स्नात्वा मुच्यते सर्वपातकैः ॥
मथ्यते तु जगत्सर्वं ब्रह्मज्ञानेन येन वा ॥
तत् सारभूतं यद्यस्यां मथुरा सा निगद्यते ॥”