माया (स्त्रीलिङ्ग)
निष्पत्ति− मा (माने) - "यः" (उ० ४-१०९)
व्युत्पत्ति− मीयते अपरोक्षवत् प्रदर्श्यते अनया
प्रयोग− "स्वप्नो नु माया नु मतिभ्रमो नु"
उल्लेख− शाकु० ६-१०
अर्थ−
१. लक्ष्मी,
२. धन, सम्पत्ति,
३. छल / कपट,
४. चटक/जादूको खेल,
५. राजनैतिक धोखाबाजी,
६. गौतम बुद्धकी आमा,
७. मयदानवकी छोरी,
८. कुनै पनि आदर गर्न योग्य स्त्री,
९. महामाया दुर्गा,
१०. बुद्धि,
११. इन्द्रवज्रा नामको वर्णवृत्तको एक उपभेद,
१२. एक वर्णवृत्त, जसको प्रत्येक चरणमा भगण, तगण, सगण तथा एक गुरु हुन्छन्,
१३. तर्क वितर्क गर्न नसकिने वेदहरूले पनि जाति, गुण, क्रिया, संज्ञा आदिद्वारा यही हो भनी तोक्न नसक्ने, विकार रोग बूढापा आदि नहुने, महामायाको आपसे आप सिद्ध भएको शक्तिलाई माया भनिन्छ । त्यस्तो माया त्रिकाल नै बाध्य रहन्न तर ब्रह्मज्ञानले बाध्य हुने हुँदा सत् नहुने र व्यावहारिक सत्ता नहुने हुँदा असत् पनि नहुने अर्थात् असत् सत्मा विरोध हुने हुँदा सदसद् हुने यी तीन नै विलक्षणले सधैँ प्रकाशित वस्तु भएको हुन्छ । मायालाई कुनै वेदको शाखामा तम, वेदान्तवादीले जड, वैष्णवादिले ज्ञान, श्वेताश्वतरादि शाखावादीले अजा, माया, परा, प्रधान, प्रकृति शक्ति भन्छन् । शैवहरूले विमर्श, वेदको तत्त्व चिन्तन गर्नेले अविद्या भन्छन् । यसरी यस मायाका वेदादि शास्त्रहरूमा अनेक नाम छन् । यो दृश्य हुँदा जड र तत्त्व ज्ञान हुँदा मायाको अस्तित्व नरहनाले असत् पनि हुन जान्छ । भनाइ छ-
“अप्रतर्क्यमनिर्देश्यमनौपम्यमनामयम् ॥
तस्य काचित्स्वतः सिद्धा शक्तिर्मायेति विश्रुता.... ॥
ज्ञाननाशात्ततोऽसती” (देवीगीता, द्वितीय अध्याय)
१४. सृष्टि स्थितिको मूलकारण प्रकृति,
१५. ईश्वरको त्यस्तो कल्पना गरिएको शक्ति, जसबाट सम्पूर्ण काम चलिरहन्छ । अविद्याद्वारा कुनै व्यक्ति वा वस्तुमा यो मेरो हो भन्ने झुटो ममता हुनु अर्थात् विचित्र काम गर्ने अचिन्त्य काम गर्ने अचिन्त्य फल दिने सपना र चटक जस्तो काम देखाउनेलाई माया भनिन्छ । भनाइ छ-
“विचित्रकार्यकरणा अचिन्तितफलप्रदा ॥
स्वप्नेन्द्रजालवल्लोके माया तेन प्रकीर्तिता ॥” (देवीपुराण) ।