यज्ञः (पुंलिङ्ग)
अर्थ−
१. विष्णु,
२. शिव,
३, अग्नि,
४. सकाम वा निष्काम रूपले परमेश्वर वा देवता आदिको गरिने आराधना । यसका तीन भेद छन् –१) ‘अर्चिरादियज्ञ’ - अग्निमा होम गर्ने,
२) ‘सोमादियज्ञ’ - पूजा, तर्पण र ३) ‘अग्निष्टोमादियज्ञ’ - जप, पूजा, पाठ, तर्पण, योग, पञ्च महायज्ञ आदि । यज्ञको धुवाँ / होम गर्दाको धुवाँ- ‘निगण’, यज्ञसम्बन्धी नैवेद्य- ‘सुत्या’ । ‘यज्ञको उत्पत्ति’- भगवान् वराहको शरीरका अङ्ग-अङ्गबाट तलका यज्ञहरू बन्न गए । आँखीभौँ र नाकको जोर्नीबाट – ‘अग्निष्टोम’ । चिउँडो र कानको जोर्नीबाट – ‘वह्निष्टोम’ | आँखा र आँखीभौँको जोर्नीबाट – ‘व्रात्यस्तोम’ । थुतुनो र ओठको जोर्नीबाट –‘पौनर्भवस्तोम’ । जिभ्राको फेदबाट ‘वृद्धस्तोम र बृहत्स्तोम’ । जिभ्राको तल्लो भागबाट– ‘अतिरात्र’ । घाँटीको जोर्नीबाट – ‘पञ्चमहायज्ञ’ । (‘ब्रह्मयज्ञ’- अध्यापन, ‘पितृयज्ञ’- तर्पण,‘ दैवयज्ञ’- होम, ‘भूतयज्ञ’- प्राणीलाई भोजन दिनु र ‘नृयज्ञ’- अतिथिसेवा) । जिभ्रोबाट –‘स्तान, तर्पण’ आदि दिनहुँ गरिने कर्म र उक्त कर्ममा गरिने विधि । गोडाको जोर्नीबाट – ‘अश्वमेध, महामेघ, नरमेध र प्राणिबलि’ दिइने यज्ञ । पीठको जोर्नीबाट– ‘राजसूय, अर्थकार, वाजपेय, ग्रहयज्ञ, प्रतिष्ठा, उत्सर्गयज्ञ, दान, श्राद्ध’ आदि । हृदयको जोर्नीबाट– ‘सावित्री यज्ञ’ (सन्ध्या) । लिङ्गको जोर्नीबाट संस्कारसम्बन्धी यज्ञ, प्रायश्चित्तसम्बन्धी यज्ञ । खुरबाट- रक्षा गर्ने यज्ञ, ‘सर्प यज्ञ, अभिचारसम्बन्धी यज्ञ, गोमेधयज्ञ र वृक्षयाग’ । पुच्छरको जोर्नीबाट– ‘मायेष्टि, परमेष्टि, गीष्पति, भोगसम्भव, अग्निषोम, नैमित्तिक यज्ञ, संक्रान्तिमा गरिने यज्ञ र द्वादशवार्षिक यज्ञ’ । नाडीसन्धिबाट– ‘तीर्थभ्रमण, आशौचयज्ञ, अर्क र आथर्वण’ । घुँडाबाट– ‘ऋचोत्कर्ष, क्षेत्रयज्ञ, पञ्चमार्ग, अतियोजन, लिङ्गसंस्थान र हेरम्बयज्ञ’ । थुतुनोबाट – ‘स्रुक्’ । नाकबाट – ‘स्रुव’ ।
“तस्याङ्गसन्धयो यज्ञा जातास्ते वै पृथक्पृथक् ।। यज्ञानां सततं लोका यैर्भाव्यन्तेऽधुनापि च ।।” (कालिकापुराण ३२/१२ - २७ श्लोक) । कात्यायन आदि श्रौतसूत्रकारहरूले प्रथम सूत्रमा अथ ‘यज्ञं व्याख्यास्यामः’ भनेर ‘द्रव्यदेवतात्यागः’ यस परिभाषाबाट द्रव्यात्मक, देवतात्मक र त्यागक्रियात्मक यी तीन यज्ञका लक्षणहरू बताएका छन् । ‘द्रव्यात्मक’ - यसमा सोमरस, पुरोडाश, घृत, दधि, यवागू, हविष्, ओदन, तण्डुल, फल, जल यी दश पदार्थको गणना छ । ‘देवतात्मक’- यसमा इन्द्र, अग्नि, वरुण आदि वेद मन्त्रोक्त देवताहरूको प्रधानता छ । ‘क्रियात्मक’ - यसमा सम्पूर्ण यज्ञको अनुष्ठान प्रक्रिया छ । जसमा- ऋत्विग्वरण, मण्डपाच्छादन, वेदीकरण, स्रुवा आदि यज्ञ पात्रहरूको सम्मार्जन, यज्ञदीक्षा-ग्रहण, अग्निस्थापना, प्रतिष्ठा र समिधादान, आज्यभागाहुति, प्रधानयाग, स्विष्टकृद्हवन, बर्हिहोम, प्रणीताविमोक, पूर्णाहुतिहोम तथा तर्पण, मार्जन आदि अनेक क्रियाहरू सम्मिलित छन् । वास्तवमा अन्तर्वेदीय सदनुष्ठानद्वारा इन्द्रादिदेवगण प्रसन्न होऊन्, स्वर्गादि प्राप्ति होस्, आध्यात्मिक, आधिदैविक र आधिभौतिक विपत्तिहरू टरून् र संसारको कल्याण होस् भनी गरिने कर्मलाई ‘यज्ञ’ भनिन्छ । मत्स्यपुराणमा यज्ञको लक्षण-
“देवानां द्रव्यहविषां ऋक्सामयजुषां तथा ।। ऋत्विजां दक्षिणानां च संयोगो यज्ञ उच्यते ।।” अर्थ- जुन कर्म विशेषमा देवता, हवनीय द्रव्य, वेदमन्त्र, ऋत्विक् तथा दक्षिणा यी पाँच उपादानहरूको जुटानलाई यज्ञ भनिएको छ । वेद, ब्राह्मणग्रन्थहरू, आश्वलायन, आपस्तम्ब, सत्याषाढ र पारस्कर आदि सूत्रग्रन्थहरूमा यज्ञका अनेक भेद बताइएका छन् । तापनि यज्ञका संस्था तीन प्रकारका छन् – ‘हविर्यज्ञसंस्था, सोमयज्ञसंस्था र पाकयज्ञसंस्था’ । यी तीन संस्थामा सात - सात यज्ञ सम्मिलित छन् । जसको संक्षिप्त परिचय यसप्रकार छ- (क) ‘हविर्यज्ञसंस्था’- मुख्य हविर्यज्ञको रूपमा ७ यज्ञ प्रकारहरूको उल्लेख देखिन्छ, जसमा एक - एक यज्ञका धेरै-धेरै भेद बताइएका छन् पहिलो यज्ञ – ‘अग्न्याधेय’ छ, जसलाई ब्राह्मणले वसन्त ऋतुमा, क्षत्रियले ग्रीष्म ऋतुमा, वैश्यले वर्षा ऋतुमा तथा कृत्तिका, रोहिणी आदि नक्षत्रहरूमा आरम्भ गर्नुपर्छ । यस्ता यज्ञमा कैयौं इष्टिहरू (दर्शपौर्णमास आदि) हुन्छन् । यी १३ रात्रिसम्म गरिन्छन् । दोस्रो यज्ञ –‘अग्निहोत्र’ घिउ तथा दूधद्वारा दिनहुँ गरिने हवन । यसको एक भेद ‘पिण्डपितृयज्ञ’ पनि हो । यसका सम्पूर्ण विधान श्राद्ध समान हुन्छन् । तेस्रो यज्ञ – ‘दर्शपौर्णमास’ जुन औँसी र पूर्णिमामा अग्नि र विष्णुलाई आहुति दिएर गरिन्छ । चौथो यज्ञ – ‘आग्रायण’ यसमा साँवा (धान) को चरु बनाएर चन्द्रमालाई आहुति दिइन्छ । यसका आयुष्यकामेष्टि, पुत्रकामेष्टि, मित्रविन्दा आदि भेद छन् । यसैप्रकार वैश्वानरी, कारीरि, पवित्री, वात्यपति आदि अनेक इष्टिहरू छन् । पुराणहरूमा भनिएको छ - यस्ता विधिविधानपूर्वक सम्पन्न भएका यज्ञहरूले कर्ताको दश पुस्तालाई उद्धार गर्छन् । पाँचौं यज्ञ– ‘चातुर्मास्य’ हो, जुन चार - चार महिनामा अनुष्ठान गरिन्छ । यसका चार भेदहरूको दउल्लेख पाइन्छ - वैश्वदेवीय, तरुण प्रघास, शाकमेघ र शुनासीरीय । छैटौँ यज्ञ – ‘निरूढपशुबन्ध’ यो प्रतिवर्ष वर्षा ऋतुमा गरिन्छ । यसमा इन्द्र र अग्निको नामबाट हवन हुन्छ, यो पशुयाग मानिन्छ । सातौं यज्ञ – ‘सौत्रामणि’ यो पनि पशुयागअन्तर्गत आउँछ । यसको व्याख्या भागवतमा पाइन्छ । (ख) ‘सोमयज्ञसंस्था’ - यसलाई आर्यहरूको अत्यन्त प्रसिद्ध याग मान्नुपर्छ । यो कालावधिको आधारमा एकाह, अहीन र सम यी तीन रूपमा देखापर्छ । अग्निमा सोमलताका रसको आहुति दिइने हुँदा ‘सोमयाग’ भनिन्छ । सोमयज्ञसंस्थाअन्तर्गत १७ ऋत्विकहरूको उल्लेख यसप्रकार पाइन्छ - होता, मैत्रावरुण, अच्छावाक्, ग्रावस्तुत्, अध्वर्यु, प्रतिप्रस्थाता, नेष्टा, उन्नेता, ब्रह्मा, ब्राह्मणाच्छंशी, आग्नीध्र, पोता, उद्गाता, प्रस्तोता, प्रतिहती, सुब्रह्मण्य र यजमान । ‘अग्निमिन्ये अग्नीध्, अग्नीधः स्थानमग्नीध्रम्, अग्निदीपनगृहम् होमागारः’ । ‘अग्नीध्रमुपतिष्ठते इत्याग्नीध्रो याजकः, ऋत्विग्वा’ । (आश्वलायनश्रौतसूत्रे,
४ - १६) । सोमयज्ञ संस्थाका मुख्य सात प्रकारहरू छन् - अग्निष्टोम, अत्यग्निष्टोम, उक्थ्य, षोडशी, वाजपेय, अतिरात्र र आप्तोर्याम । यिनका अरू उपभेदहरू पनि छन् । यिनमा एक महिनासम्म चल्ने यज्ञ - उशनस्तोम, गोस्तोम, भूमिस्तोम, वनस्पतिसव, बृहस्पतिसव, गौतमस्तोम, उपहव्य, चान्द्रमसी इष्टि, सौरी इष्टि आदि छन् । सूर्यस्तुतयज्ञ र विश्वस्तुतयज्ञ यशको कामनाले, गोसव र पञ्चशारदीय पशुहरूको कामनाले र वाजपेययज्ञ आधिपत्यको कामनाले गरिन्छ । वाजपेय यज्ञ महत्त्वपूर्ण मानिन्छ, । जसका १७ दीक्षाहरू छन् । यो उत्तरा फाल्गुनी नक्षत्रयुक्त पूर्णिमा तिथिमा आरम्भ हुन्छ । यो सम्पूर्ण कामनालाई पूर्ण गर्ने ‘विश्वजित्’ यज्ञ मानिन्छ । ऋद्धिको कामनाले एक दिनमा गरिने ‘ज्योति’ नामको यज्ञ छ । भ्रातृत्वभाव प्राप्तिको लागि ‘विषुवत्सोम’ नामको यज्ञ गरिन्छ, स्वर्गकामनाको लागि ‘आङ्गिरसयज्ञ’, आयुको लागि ‘आयुयज्ञ’ र पुष्टिको लागि ‘जामदग्न्ययज्ञ’ गरिन्छ । यी यज्ञ ४/४ दिनसम्म गरिन्छन् । शरद्ऋतुमा ५/५ दिनहरूमा – ‘सार्वसेन, दैव, पञ्चशारदीय, व्रतबन्ध र वावर’ नामक यज्ञहरू गरिन्छन् । जसबाट क्रमैसँग सेना तथा पशु, बन्धु बान्धव, आयु र वाक्शक्तिको वृद्धि हुन्छ । ६/६ दिनसम्म चल्ने यज्ञहरूमा विशेष रूपले ‘पृष्ट्यावलम्ब र अभ्यासक्त’ आदि उत्तम छन् । अन्नादिको कामनाले ७/७ रातसम्म गरिने यज्ञहरूमा ‘ऋषि सप्तरात्र, प्राजापत्य, पवमानव्रत र जामदग्न्य’ आदि मुख्य छन् । तर जनक सप्तरात्रयज्ञ ऋद्धिको कामनाले गरिन्छ । आठ रातसम्म गरिनेमा मेहाव्रतलाई मुख्य मानिन्छ । नौ रातसम्म गरिनेमा ‘पृष्ठ्य र त्रिकटुक’ को गणना हुन्छ । दश रातसम्म गरिनेमा आठ यज्ञ छन्, जसमध्ये ‘अध्यर्ध, चतुष्टोम, त्रिककुप, कुसुरुबिन्दु’ आदि मुख्य छन् । ऋद्धिको कामनाले गरिने ‘पुण्डरीकयज्ञ’ दुई प्रकारका हुन्छन्, जुन नौ रातमा वा दश रातमा पूरा हुन्छन् । सामान्यतया ‘द्वादशाहयज्ञ’ चार मानिन्छन्, जुन पृथक् पृथक् संस्थाहरूमा प्रयोग हुन्छन् । यीमध्ये ‘भरत द्वादशाह यज्ञ’ मुख्य छ । सम्पूर्ण यज्ञमा श्रेष्ठ ‘अश्वमेधयज्ञ’ मानिन्छ । यसको विधानको वर्णन श्रौतसूत्रमा १०० पृष्ठभन्दा बढी छ । एक वर्षसम्म चल्ने यस यज्ञमा एक यज्ञको घोडा देशविदेशमा घुमाइन्छ, जसको पछाडि राजाको सेना हिँड्छ । घोडा समाउनेसँग लडाइँ गरेर घोडा छुटाई ल्याइन्छ । जबसम्म घोडा फर्केर आउँदैन तबसम्म ‘पारिप्लव’ व्याख्या चल्छ । यस क्रममा दश दश दिनमा पहिलो दिन ऋग्वेद- वैवस्वत मनुको व्याख्यान, दोस्रो दिन यजुर्वेद- पितृहरूको व्याख्यान, तेस्रो दिन अथर्ववेद- वरुणादित्यको पौराणिक व्याख्यान, चौथो दिन आङ्गिरस (अथर्वण) वेद - विष्णु र चन्द्रमाको व्याख्यान, पाँचौं दिन भिषज् वेद- कद्रू र विनताको व्याख्यान, छैटौँ र सातौं दिन असुरहरूको व्याख्यान, आठौं दिन मत्स्यपुराण र अरू पनि कैयौँ पुराणहरूको व्याख्यान तथा पाठ हुन्छ । यसरी १०/१० दिनमा पाठ हुँदाहुँदा ३६० दिनपछि दीक्षा हुन जान्छ । यसप्रकार त्यसपछि पनि कैयौँ महिनासम्म यो यज्ञ हुँदै गर्छ । (राजा दशरथले राम आदि छोरा पाउने इच्छाले तीन वर्षसम्म यो यज्ञ गरेका थिए भने पुराणहरूमा देखिन्छ) । (ग) ‘पाकयज्ञसंस्था’ पाकयज्ञअन्तर्गत सप्त संस्थाहरूको उल्लेख पाइन्छ, जुन क्रमैले अष्टका, पार्वणश्राद्ध, श्रावणी, आग्रहायणी, चैत्री र आश्वयुजीको नामबाट जानिन्छ । पाकयज्ञसंस्थामध्ये पहिलो अष्टकाश्राद्ध हुन्छ, यो कार्तिक, मार्ग, पौष, माघ यी चार महिनाका कृष्णपक्षको अष्टमी तिथिहरूमा गरिने हुनाले अष्टका भनिन्छ । तर अष्टकाश्राद्ध मार्ग, पौष र माघ तीन महिनाका कृष्णाष्टमीहरूमा गरिन्छ । यिनमा स्थालीपाक, आज्याहुतिपूर्वक पितृहरूको श्राद्ध हुन्छ । पर्वपर्वमा या पितृहरूको निधन तिथिमा र महिना महिनामा हुने श्राद्धलाई पाकयज्ञ भनिन्छ । यस बाहेक एकोद्दिष्ट, आभ्युदयिक आदि श्राद्धलाई पनि पाकयज्ञमा गणना गरिएको छ । श्रावणी पूर्णिमाको दिन हुने सर्पबलि, गृह्यकर्म र वैदिक क्रियाहरूको रक्षाबन्धनलाई श्रावणी कर्ममा गणना गरिन्छ । यसलाई चौथो पाकयज्ञ मानिन्छ । ‘पारस्करगृह्यसूत्र’को तृतीय काण्डको द्वितीय कण्डिकाअनुसार आग्रहायणी कर्म पाँचौं पाकयज्ञ संस्था हो । यसमा सर्पबलि, स्थालीपाकपूर्वक श्रावणीको समाननै आज्याहुति, स्विष्टकृत् होम र भूशयनको काम हुन्छ । चैत्रमा शूलगवमर्क (वृषोत्सर्ग) गरिन्छ । पारस्करगृह्यसूत्रको तृतीय काण्डको आठौं कण्डिकाअनुसार शूलगव यज्ञबाट स्वर्ग, पुत्र, धन, पशु, यश र आयु प्राप्त हुन्छ । यसमा पशुपति रुद्रको लागि साँढे छोड्ने आदेश छ । यसै दिन स्थालीपाकपूर्वक विधिवत् हवन पनि गरिन्छ । सातौं पाकयज्ञसंस्था- ‘आश्वयुजीकर्म’ हो, यसको वर्णन पारस्करगृह्यसूत्रको द्वितीयकाण्डको सोहौं कण्डिकामा विस्तृत रूपमा छ । यसको पूरा नाम ‘पृषातकयज्ञ’ हो । यसमा ऐन्द्रिय हविष्यको दही र मह मिसाएर इन्द्र, इन्द्राणी तथा अश्विनी कुमारहरूको नामबाट आश्विन-पूर्णिमाको दिन हवन गरिन्छ । त्यो दिन गाई र बाच्छाहरू विशेष रूपले एक साथ राखिन्छन् । ब्राह्मण भोजन गराएपछि यो यज्ञ समाप्त हुन्छ । तर कलियुगमा अश्वमेधादियज्ञ नगर्नू भनी निषेध गरिएको छ । वर्तमानकालमा- रुद्रयाग, महारुद्रयाग, अतिरुद्रयाग, विष्णुयाग, सूर्ययाग, गणेशयाग, लक्ष्मीयाग, शतचण्डीयाग, सहस्रचण्डीयाग, लक्षचण्डीयाग, नवाहयज्ञ आदि गर्ने चलन छ । यज्ञको विधान अग्नि, भविष्य, मत्स्य आदि पुराण र कल्पसूत्रहरू (श्रौतसूत्र, गृह्यसूत्र) मा छ पद्मपुराणको सृष्टिखण्ड (३/१२४) मा स्पष्ट रूपमा यज्ञको वर्णन यसप्रकार छ -
“यज्ञेनाप्यायिता देवा वृष्टयुत्सर्गेण मानवाः ।। आप्यायनं वै कुर्वन्ति यज्ञाः कल्याणहेतवः ।।” अर्थात् यज्ञद्वारा देवताहरूको आप्यायन वा पोषण हुन्छ । यज्ञद्वारा वृष्टि भएर मानिसहरूको पालन हुन्छ । यसरी संसारको पालनपोषण गरिने हुँदा नै यज्ञ कल्याणको हेतु मानिन्छ । श्रीमद्भागवतमा यज्ञको महिमा यसरी गाइएको छ -
“यस्य राष्ट्रे पुरे चैव भगवान् यज्ञपूरुषः ।। इज्यते स्वेन धर्मेण जनैर्वर्णाश्रमन्वितैः ।। तस्य राज्ञो महाभाग ! भगवान् भूतभावनः ।। परितुष्यति विश्वात्मा तिष्ठतो निजशासने ।।” अर्थात्- हे वेन राजन् ! जसको राज्य वा नगरमा वर्णाश्रमधर्म पालन गर्ने पुरुषद्वारा स्वधर्मपालना गर्दै भगवान् यज्ञ पुरुषको आराधना गरिन्छ, आफ्नो वेदशास्त्ररूपी आज्ञा पालन गर्ने त्यो राजादेखि भगवान् प्रसन्न हुनुहुन्छ किनभने उहाँ नै सारा विश्वको आत्मा तथा सम्पूर्ण प्राणीहरूको रक्षक हुनुहुन्छ । ‘यज्ञको आविर्भाव’– स्वायंभुवमनुकी पत्नी शतरूपाको गर्भबाट आकूतिको जन्म भयो । यिनी रुचि प्रजापतिकी पत्नी थिइन् । यिनै आकूतिबाट २४ अवतारमध्ये सातौं अवतारमा यज्ञपुरुष नामक नारायणको जन्म भयो र यज्ञको प्रचार सुरु भयो । यज्ञपुरुषको दक्षिणा नामकी पत्नी र याम नामका १२ छोराहरू उत्पन्न भए ।