योनिमुद्रासनम् (नपुंसकलिङ्ग)
अर्थ−
‘हठयोग’अनुसार कुण्डलिनी जगाउन अति उपयोगी एक आसन/ सिद्धासन गरेर (बसेर), दुई कानको प्वाललाई दुवै हातका औँठोले, दुवै आँखालाई दुई चोरी औँलोले, नाकका दुवै प्वाललाई दुई माझी औँलाले र मुखलाई दुवै साहिँली औँलाले थुनेर, काकीमुद्राले प्राणवायु माथि तान्दै अपान वायुमा मिलाओस्, अनि मेरुदण्ड भित्रका छ चक्रहरूको ध्यान गर्दै ‘हुँ हँसः’ यस मन्त्रले नामरूपिणी कुण्डलिनीलाई जगाएर जीवात्माको साथै कुण्डलिनीलाई सहस्रारमा पुर्याएर यस्तो चिताओस् -
“म स्वयं शक्तिमय भएर परमेश्वर शिवको साथ एकरूप हुँदा अनेक सुख विहारको आनन्द गर्दैछु र शिवशक्तिमा मिलेर परब्रह्म भएको छु” । यस्तो क्रियालाई योनिमद्रा आसन भनिन्छ । यस्तो आसनमा रही गरिने योनिमुद्रा ज्यादै गोप्य छ, देवताहरूमा पनि दुर्लभ छ । एक पटक मात्र योनिमुद्रा गर्न सके समाधि चाँडै नै प्राप्त गर्न सकिन्छ ।
“सिद्धासनं समासाद्य कर्णं चक्षुर्नसोमुखम् ।। अङ्गुष्ठतर्जनीमध्यमादिभिश्च प्रसाधयेत् ।। काकीभिः प्राणान् संकृष्य अपाने योजयेत्ततः ।। षट्चक्राणि क्रमाद् ध्यात्वा हुँहंसमनुना सुधीः ।। चैतन्यमानयेद्देवीं निद्रिता या भुजङ्गिनी ।। जीवेन सहितां शक्तिं समुत्थाप्य कराम्बुजे ।। शक्तिमयः स्वयं भूत्वा परं शिवेन सङ्गमम् ।। नानासुखं विहारं च चिन्तयेत् परमं सुखम् ।। शिवशक्तिसमायोगादेकान्तं भुवि भावयेत् ।। आनन्दश्च स्वयं भूत्वा अहं ब्रह्मेति सम्भवेत् ।। योनिमुद्रा परा गोप्या देवानामपि दुर्लभा ।। सकृत्तु लाभसंसिद्धिः समाधिस्थ स एव हि ।।” (घेरण्डसंहिता)