संस्कृत-शब्दकोशः

वृत्तारम्भा वृत्तिकर

वृत्ति

वृत्तिः (स्त्रीलिङ्ग)


निष्पत्ति− वृतु - (वर्तने) - "क्तिन्" (३-३-९४)
प्रयोग− "प्राणानामनिलेन वृत्तिरुचिता सत्कल्पवृक्षे वने"
उल्लेख− शाकु० ७-१२

अर्थ−
१. कुनै त्यस्तो काम, जसद्वारा मानिसले आफ्नो दैनिक व्यवहार चलाउन सक्छ / जीविका/पेशा,
२. कुनै गरिब वा योग्य छात्रलाई पढ्दा सहयोग गरी दिइने धन,
३. कुनै (ग्रन्थको) सूत्रको व्याख्या,
४, दशा/हालत,
५. चालचलन / आचरण,
६. तरिका,
७. क्रिया/कर्म/विधान,
८. ज्याला/मजुरी,
९. वृत्त वा पाङ्ग्रोको व्यास वा घेरा,
१०. स्वभाव/प्रकृति,
११. व्यापार,
१२. कर्तव्य,
१३. प्राचीन अस्त्रविशेष,
१४. अस्तित्व,
१५.साहित्यशास्त्रोक्त वृत्तिहरू - साहित्यशास्त्रमा वृत्ति तीन प्रकारका छन् - अभिधा आदि वृत्ति, कौशिकी आदि वृत्ति र मधुरा आदि वृत्ति । अभिधा आदि वृत्ति भन्नाले अभिधा, लक्षणा र व्यञ्जना यी तीन वृत्ति बुझिन्छन् । यी शब्दका व्यापार पनि हुन् । यी तीन वृत्तिद्वारा शब्दले तीन प्रकारका अर्थ बुझाउँछन् । अभिधावृत्ति शब्दको सामान्य वृद्धि हो लक्षणा र व्यञ्जना विशेष वृत्ति हुन् । क) अभिधावृत्तिले साङ्केतिक अर्थात् वाच्य (अभिधेय) अर्थ बुझाउँछ । यस अर्थलाई मुख्य अर्थ पनि भनिन्छ । ख) लक्षणावृत्तिले लक्ष्य अर्थ बुझाउँछ । लक्ष्य अर्थ बुझाउने शब्दमा यस वृत्तिको उपयोग हुन्छ । ग) व्यञ्जनावृत्तिले व्यङ्ग्य अर्थ बुझाउँछ । व्यङ्ग्य अर्थ बुझाउने शब्दमा यसको उपयोग हुन्छ । त्यस व्यङ्ग्य अर्थलाई ध्वन्यमान अर्थ वा ध्वनि पनि भन्दछन् ।

“वाच्योऽर्थोऽभिधया बोध्यो लक्ष्यो लक्षणया मतः ॥
व्यङ्ग्यो व्यञ्जनया ताः स्युस्तिस्त्रः शब्दस्य शक्तयः (वृत्तयः) ॥”

(साहित्यदर्पण) गङ्गाका तीन धारा जस्तै अभिधा, लक्षणा र व्यञ्जना वृत्तिले सहित भएकी वाणीरूपी गङ्गा कहीँ गम्भीर, कहीं कुटिल र कहीं सरल भएर बहन्छिन् ।

“वृत्तिभेदैस्त्रिभिर्युक्ता स्रोतोभिरिव जाह्नवी ॥
भारती भाति गम्भीरा कुटिला सरला क्वचित् ॥”

(चन्द्रालोक) । कौशिकी आदि वृत्ति भन्नाले (क) कौशिकी (ख) सात्वती (ग) आरभटी (घ) भारती यी चार वृत्ति बुझिन्छन् । यी चार वृत्तिले विलासविन्यासक्रम नृत्य, गीत, वाद्य, वेष आदिको परिपाटी बताउँछन् । यी वृत्तिहरू प्रायः नाटकमा प्रयुक्त हुन्छन् । क) ‘कौशिकी वृत्ति’ - जसमा सुकुमार वेषको विशेषताले चमत्कार हुन्छ, जहाँ स्त्रीहरू धेरै रहन्छन् र नाचगान बढी हुन्छ, जहाँ यथेच्छ उपभोगलाई परिलक्षित गर्ने उपचारहरू हुन्छन् । सुन्दर विलासले युक्त भएको त्यो कौशिकी वृत्ति हो ।

“या श्लक्ष्णनेपथ्यविशेषचित्रा स्त्रीसङ्कुला पुष्कलनृत्यगीता ॥
कामोपभोगप्रभवोपचारा सा कौशिकी चारुविलासयुक्ता ॥”

(साहित्यदर्पण ६) । ख) ‘सात्त्वती वृत्ति’ - जहाँ बल, शूऱ्याइँ, त्याग, दया, सरलता आदि उदात्त गुणको बाहुल्य छ, शृङ्गार थोरै छ । जहाँ आमोद प्रमोद र आश्चर्य छ जहाँ शोकको कुरा छैन त्यो सात्वती वृत्ति हो ।

“सात्वती बहुला सत्त्वशौर्यत्यागदयार्जवैः ॥
सहर्षा क्षुद्रशृङ्गारा विशोका साद्भुता तथा ॥”

(साहित्यदर्पण ६) ग) ‘आरभटी वृत्ति’ - जहाँ कपट, इन्द्रजाल, लडाइँ आदि हुन्छन् । क्रोधी र पागल आदिका चेष्टा देखिन्छन् । हत्या हिंसा, मारपीट, बाँध-छाँद आदि काम जहाँ छन् त्यस्तो उद्धत अर्थात् विकट, डरलाग्दा घटनाहरू देखाउने आरभटी वृत्ति हो ।

“मायेन्द्रजालसङ्ग्रामक्रोधोद्भ्रान्तादिचेष्टितैः ॥
संयुक्ता वधबन्धाद्यैरुद्धतारभटी मता ॥”

(साहित्यदर्पण ६) घ) ‘भारती वृत्ति’ - भारती वृत्तिमा संस्कृतभाषाको प्राचुर्य हुन्छ र स्त्रीपात्रहरू हुँदै हुँदैनन्, भए पनि अल्पसंख्यामा हुन्छन् । पुरुषहरूको वाणीको व्यापार प्रधान रहन्छ ।

“भारती संस्कृतप्रायो वाग्व्यापारो नराश्रयः ॥”

(साहित्यदर्पण ६.) । शृङ्गाररसको वर्णनमा कौशिकी वृत्ति, वीररसको वर्णनमा सात्वती वृत्ति, रौद्र र बीभत्सरसको वर्णनमा आरभटी वृत्ति रहन्छ । इतिवृत्त पात्र आदिको औचित्यले सबै रसमा भारती वृत्ति प्रयुक्त हुन्छ ।

“शृङ्गारे कौशिकी वीरे सात्वत्यारभटी पुनः ॥
रसे रौद्रे च बीभत्से वृत्तिः सर्वत्र भारती ॥
चतस्रो वृत्तयस्त्वेताः सर्वनाट्यस्य मातृकाः ॥
स्युर्नायकादिव्यापारविशेषा नाटकादिषु ॥”

(साहित्यदर्पण ६) ‘मधुरा वृत्ति’ भन्नाले क) मधुरा ख) प्रौढा ग) परुषा घ) ललिता ङ) भद्रा यी पाँच वृत्ति लिइन्छन् । यी वृत्तिहरू वर्ण विन्यासक्रमको आधारमा रहन्छन् । क) ‘मधुरा वृत्ति’ - वर्गका चार अक्षर (क, ख, ग, घ आदि) पाँचौं सानुनासिक (ङ, ञ, ण, न, म) अक्षरहरूले संयुक्त हुँदा, लकार - लकारकै साथ जुट्दा, रेफ - णकार र हस्व अक्षरहरूसँग मिल्न जाँदा मधुरावृत्ति हुन्छ । ख) ‘प्रौढा वृत्ति’ - ट, ठ, ड, ढ तथा वर्गको पाँचौं अक्षर (ङ, ञ, ण, न म) लाई छोडेर वर्गको क, ख, ग, घ आदि वर्ण यकार, णकार र रेफसँग जुट्दा तथा तवर्ग ककार र पकारसँग मिल्न जाँदा, त्यस्तै ककार माथि तकार लाग्दा प्रौढावृत्ति हुन्छ । ग) ‘परुषा वृत्ति’ - सकारमाथि सबै ककार आदि अक्षर जुटेमा, रकारको तलमाथि सबै वर्ण जुटेमा तथा रेफ र हकारको तलमाथि दुवै रूपले सम्बन्ध भएमा यस्तै शकार तथा षकार नजुटेमा परुषावृत्ति हुन्छ । घ) ‘ललिता वृत्ति’ - लकार - लकारैसँग जुटेमा तर अरू अक्षरसँग नजुटेमा घकार, मकार, धकार, रेफ, सकार लघु रूपबाट आएमा ललितावृत्ति हुन्छ । ङ) ‘भद्रा वृत्ति’- मधुरा, प्रौढा, परुषा र ललितावृत्तिहरूको अक्षरहरूबाट बाँकी हुन गएका अक्षरहरू संयुक्त हुन जाँदा वा संयुक्त नभएमा पनि भद्रावृत्ति हुन्छ; १६. योगशास्त्रमा चित्तको (क्रिया वा) वृत्ति जसको सङ्ख्या अनेक छ, ती मध्ये क्लिष्ट र अक्लिष्टको भेदले मुख्य पाँचथरी छन् - प्रमाणवृत्ति, विपर्ययवृत्ति, विकल्पवृत्ति, निद्रावृत्ति र स्मृतिवृत्ति, ‘वृत्तयः पञ्चतय्यः क्लिष्टाक्लिष्टाः’ (पा.यो.सू.१/५); १७. व्याकरणशास्त्रमा पदार्थको अभिधान (अर्को शब्दको गुणको बताउने) लाई वृत्ति भनिन्छ । ती वृत्ति पाँच प्रकारका छन् - कृत्, तद्धित, समास, एकशेष र सनाद्यन्त धातुरूप । ‘परार्थाभिधानं वृत्तिः कृत्तद्धितसमासैकशेषसनाद्यन्तधातुरूपाः पञ्चवृत्तयः’ (सिद्धान्तकौमुदी); १८. वेदान्त शास्त्रअनुसारका वृत्ति । वेदान्तशास्त्रमा तीन वृत्ति छन् - जाग्रत्, स्वप्न र सुषुप्ति,
१९. सरकारी ढुकुटीमा जम्मा गरिएको धनको त्यस्तो व्याज जुन जम्मा गर्ने व्यक्तिको परिवारले पाउँछन् ।



Correction: