शरीरम् (नपुंसकलिङ्ग)
अर्थ−
१. प्राणीहरूका सबै अङ्ग जुटेर बनेको एक रूप/जीउ,
२. कुनै वस्तुको सम्पूर्ण विचार वा ढाँचा, जसमा त्यसको सबै अङ्ग जुटेको हुन्छ,
३. जीउसम्बन्धी बल,
४. मुर्दा (शव) । शरीर तीन किसिमका हुन्छन् -कारणशरीर, सूक्ष्मशरीर र स्थूलशरीर । सूक्ष्मशरीर, स्थूल शरीर र कारण शरीरमध्ये स्वप्नावस्थामा सूक्ष्मशरीरको, सुषुप्ति अवस्था (गहिरो निद्रा परेको बेला जुन बखत केही पनि थाहा हुन्न)मा कारणशरीरको र हिंड्डुल गर्नु आदि शरीर चलाउनु स्थूल शरीरको कार्य हो । हामीले सोच्नु, मनन वा चिन्तन गर्नु, आदि सूक्ष्म शरीरका कार्य हुन् । हाम्रो स्वभाव, आदत आदि कारण शरीरका कार्य हुन् । मुख्यतः शरीरका पाप तीन छन् - अदत्तादान (अर्काले नदिएको वस्तु लिनु), हिंसा (जथाभाबी मार्नु) र परदारोपसेवा (परस्त्रीगमन) । भनाइ छ-
“अदत्तानामुपादानं हिंसा चैवाविधानतः ॥
परदारोपसेवा च कायिकं त्रिविधं स्मृतम् ॥”
(स्कन्दपुराण) ।