संस्कृत-शब्दकोशः

श्रीवाससार श्रीवृक्ष

श्रीविद्या

श्रीविद्या (स्त्रीलिङ्ग)


अर्थ−
दशमहाविद्यामध्येका मुख्य तीन देवीहरू (काली, तारा, षोडशी)मा तेस्री देवी जसका षोडशी, राजराजेश्वरी, पञ्चदशी, ललिता, बाला, महात्रिपुरसुन्दरी, कामेशी, नित्यकला, भगमालिनी, नित्यक्लिन्ना, भेरुण्डा, बह्निवासिनी, महाविद्येश्वरी (महावज्रेश्वरी) शिवदूती, त्वरिता, कुलसुन्दरा, विमला, नीलपताकिनी, विजया, सर्वमङ्गला, ज्वालामालिनी, विचित्रा आदि वर्णनातीत रूपान्तरहरू छन् तर यहाँ केही मात्र दिग्दर्शन गराइएको छ - कामेशी भन्नाले कामेश्वर्यादि षोडश नित्यकला, कामेश्वर्यादि अतिरहस्य योगिनीहरू र महात्रिपुरसुन्दरी सम्झिन्छ । तर कामेश्वरीका तीन भेद छन् -१) नित्यककलाकामेश्वरी,
२) अतिरहस्ययोगिनी कामेश्वरी,
३) महात्रिपुरसुन्दरी । अब पूर्वोक्त षोडश नित्यकलाहरूमा प्रकाश र विमर्शको सामरस्य गराउँदा जुन अन्तःस्फुरण हुन्छ, त्यसबाट पञ्चमहाभूत हुन गए । जस अन्तर्गत पञ्चतन्मात्राका एक एक गुण बढ्न जाँदा पन्ध्र गुण हुन गए । यही स्फूरण सत्ता (षोडश) सोह्र महात्रिपुरसुन्दरी नित्यकला र (पञ्चदश) पन्ध्र कलाहरू कामेश्वरी नित्यकलाबाट लिएर विचित्रा नित्यकलासम्म बन्न जाँदा तिनीहरू नै तिथिरूप बन्न गए । अतः जुन तिथिको विभाजन जुन सत्ताबाट बन्छ, त्यही सत्तारूप तिथिको नित्यकलारूप भयो । जस्तै - १) कामेश्वरी नित्यकला शुक्ल प्रतिपदा र अमावास्याको तिथि - ‘नित्यकला’ हो,
२) शुक्लद्वितीया र कृष्णचतुर्दशीको नित्यकला - ‘भगमालिनी’ हो । भगमालिनीका दुई भेद छन् - एक ‘भगमालिनी नित्यकला’ र अर्को ‘अतिरहस्ययोगिनी भगमालिनी’,
३) शुक्लतृतीया र कृष्णत्रयोदशीको नित्यकला - ‘नित्यक्लिन्ना’ हो,
४) शुक्लचतुर्थी र कृष्णद्वादशीको नित्यकला - ‘भेरुण्डा’ हो,
५) शुक्लपञ्चमी र कृष्णएकादशीको नित्यकला - ‘वह्निवासिनी’ हो,
६) शुक्लषष्ठी र कृष्णदशमीको नित्यकला - ‘महाविद्येश्वरी’ (महावज्रेश्वरी) हो,
७) शुक्लसप्तमी र कृष्णनवमीको नित्यकला- ‘शिवदूती’ हो,
८) शुक्लअष्टमी र कृष्णअष्टमीको नित्यकला - ‘त्वरिता’ हो,
९) शुक्लनवमी र कृष्णसप्तमीको नित्यकला - ‘कुलसुन्दरी’ हो,
१०) शुक्लदशमी र कृष्णषष्ठीको नित्यकला - ‘विमला’ हो,
११) शुक्लएकादशी र कृष्णपञ्चमीको नित्यकला -‘नीलपताकिनी’ हो,
१२) शुक्लद्वादशी र कृष्णचतुर्थीको नित्यकला- ‘विजया’ हो,
१३) शुक्लत्रयोदशी र कृष्णतृतीयाको नित्यकला- ‘सर्वमङ्गला’ हो १४) शुक्लचतुर्दशी र कृष्णद्वितीयाको नित्यकला - ‘ज्वालामालिनी’ हो,
१५) शुक्लपूर्णिमा र कृष्णप्रतिपदाको नित्यकला ‘विचित्रा’ हो । ललिताका दुई भेद छन् - १) पूर्वाम्नायमा - भुवनेश्वरीको रूपान्तर र ऊर्ध्वाम्नायमा - त्रिकूटात्मिका महात्रिपुरसुन्दरी, जसलाई पञ्चदशमी महात्रिपुरसुन्दरी पनि भनिन्छ । कामेश्वरको काखमा ध्यानमा त्रिपुरसुन्दरी छैनन्, पञ्चप्रेतमाथि विराजमान छिन् । लघुषोडशीसम्म त्रिपुरसुन्दरीको रूप यस्तै हुन्छ । जब त्रिपुरसुन्दरीको महाषोडशी रूप होला, तव कामेशाङ्कमा विराजमान हुन्छिन् । त्यसबेला यी विद्या गुणातीता र केवल परब्रह्मात्मिका हुन जान्छिन् । पञ्चदशमी महात्रिपुरसुन्दरीको त्रिकूटात्मिका विद्याको बेग्लाबेग्लै देवताहरूले उपासना गरिँदा धेरै भेद भए पनि ध्यान एउटै छ । यिनमा तीन विद्या प्रधान मानिन्छन् -१) कामोपासिता पञ्चदशी, जसलाई कादिपञ्चदशी भनिन्छ,
२) लोपामुद्रोपासिता पञ्चदशी जसलाई हादिपञ्चदशी भनिन्छ,
३) वन्द्युपासिता पञ्चदशी, जसलाई सादिपञ्चदशी भनिन्छ । बाला भन्नाले बालात्रिपुरा, बालासुन्दरी र बालात्रिपुरसुन्दरीलाई जान्नु पर्छ । यिनीहरूको रूपान्तर मन्त्र र ध्यान फरक फरक छन् । महाषोडशीमा एक कूट र उसको सादिकूटमा पनि केही व्यञ्जन जोडेर सप्तदशीको जप गर्दा अनाख्यासुन्दरी हुन आउँछिन् । निर्वाणमहात्रिपुरसुन्दरीनिद्राको पछि ब्युँझने अगाडिको अवस्था प्रायः ब्राह्ममुहूर्तमा हुन्छ, त्यसबेलाको चेतना रूप निर्वाणभैरव र त्यसको बोध गराउने जुन सत्ता स्फूर्ति हुन्छ त्यो निर्वाण महात्रिपुरसुन्दरीको रूप बन्न जान्छ । यिनको मन्त्र दशकूटात्मिका षोडशाक्षरी विद्या हो । यसैलाई लघुसाम्राज्य मेधादीक्षा पनि भनिन्छ । यो निर्वाणभैरव र निर्वाण महात्रिपुरसुन्दरीको उपासना लघुसाम्राज्य मेधादीक्षाबाहेक हुनै सक्तैन तर महासाम्राज्यदीक्षा गृहस्थाश्रम त्यागेर वानप्रस्थाश्रममा मात्र लिनुपर्छ । ‘त्रिपुरा’ - तीव्रजाग्रत् अवस्थाका मानिसहरूको चेतनालाई त्रिपुरा भनिन्छ जसलाई श्रीयन्त्रको भूपुरको चक्रेश्वरी मानिन्छ । मन्दजाग्रत् अवस्थामा त्यो चेतना त्रिपुरेशिनी बन्न जान्छ । स्वप्नावस्थामा त्यो चेतना त्रिपुरेशी हुन जान्छ । सुषुप्त अवस्थामा त्यो चेतना त्रिपुरसुन्दरी बन्छ । जब उपासकको शुभेच्छा हुन्छ त्यसवेला त्यो चेतना त्रिपुरवासिनी हुन्छ । शुभ विचारणामा त्यो चेतना त्रिपुराश्री बन्छ । त्यस्तै तनुमानसामा त्यो चेतना त्रिपुरापालिनी हुन्छ । पदार्थभवानीमा त्यो चेतना त्रिपुरभैरवी बन्ने गर्छ । तुर्यगामा त्यो चेतना पूर्वोक्त ललितामहात्रिपुरसुन्दरी हुन जान्छ । ‘पञ्चदशी’- वाग्भवकूट, कामराजकूट र शक्तिकूट मिसिएको श्रीविद्या देवी । ‘षोडशी’ - पूर्वोक्त कामेश्वरी नित्यकला -शुक्लप्रतिपदा र अमावास्याको तिथि नित्यकलाबाट शुक्लपूर्णिमा र कृष्णप्रतिपदाको नित्यकला विचित्रासम्म सोह्र रूप र नाम भएकी श्रीविद्यालाई षोडशी वा षोडशीया भनिन्छ, जसका सुन्दरी वा त्रिपुरसुन्दरी आदि नाम छन् । श्रीविद्याको विषय ज्यादै गहिरो र अनेक भेदको हुँदा सामान्य दिग्दर्शन मात्र यहाँ गराइएको छ ।

“विमर्शरूपिणी विद्या षोडशी या प्रकीर्तिता । गता सा षोडशैर्भेदैस्त्रिपुरा परमेश्वरी ॥
सुन्दर्यादिमहापूर्वविचित्रान्तं समन्ततः ॥”

(वडवानलतन्त्र) ।



Correction: