लक्षणा (स्त्रीलिङ्ग)
अर्थ−
१. पोथी सारस, ‘सारस्यां लक्षणा क्वचित्’ (मेदिनी),
२. अप्सराविशेष,
३. लक्ष्य / उद्देश्य,
४. बिहीँ,
५. साहित्यमा शब्दद्वारा अर्थको बोध गराउने मुख्य तीन शक्ति अभिधा, लक्षणा, व्यञ्जनामध्ये वाच्यार्थ र लक्ष्यार्थको सम्बन्धलाई लक्षणा भनिन्छ । अथवा जुन शक्तिको सहयोगबाट लक्षक शब्दले लक्ष्य अर्थ बुझाउँछ त्यसलाई लक्षणा भनिन्छ । अर्थात् लक्षक शब्दमा रहेको लक्ष्य अर्थ बुझाउन सक्ने शक्ति नै लक्षणा हो । यस लक्षणाको प्रतीति रूढि वा प्रयोजनद्वारा हुने गर्छ । ‘लक्षणं लक्षणा’ यो भावप्रधान व्युत्पत्तिअनुसार लक्षणा शब्दको अर्थ लक्ष्यार्थ र ‘लक्ष्यते अनया’ लक्षणा यो करणप्रधान व्युत्पत्तिअनुसार लक्षणा शब्दको अर्थ लक्ष्यार्थ बुझाउने साधन अर्थात् शक्ति भन्ने बुझिन्छ । अर्थात् मुख्य अर्थबाट तात्पर्यको बोध नभएपछि मुख्य अर्थसँग सम्बन्धित अर्को अर्थको बोध गराउने लक्षणावृत्ति हुन्छ । भक्ति, अमुख्या, उपचारवृत्ति आदि लक्षणाकै नामान्तर हुन् । काव्यप्रकाशमा उपचार शब्द गौणी लक्षणाको बोधक मानिएको छ । उक्त लक्षणावृत्ति दुईथरीका छन् - निरूढा लक्षणा र प्रयोजनवती लक्षणा । प्रयोजनवती लक्षणालाई स्वारसिक लक्षणा वा फललक्षणा पनि भनिन्छ । निरूढा लक्षणा - ‘नेपालो वीरः’ यस वाक्यको अर्थ नेपाल देश वीर छ भन्ने होइन, नेपाल देशका बासिन्दा वीर छन् भन्ने हो । त्यसैले यहाँ लक्षणा शक्तिले नेपाल शब्दको अर्थ नेपालवासी भन्ने बुझाएको छ । नेपाल शब्द नेपालवासी अर्थमा रूढ छ । नेपाल र नेपालवासीको बीचमा आधाराधेय भाव सम्बन्ध छ । त्यसैले यो निरूढा लक्षणाको उदाहरण हो । प्रयोजनवती लक्षणा- ‘गङ्गायां घोषः’ यहाँ अभिधाद्वारा गङ्गाको धारामा गोठ छ भन्ने मुख्यार्थ बोध हुन्छ, तर पानीमा गोठ हुनै नसक्ने हुँदा वक्ताको तात्पर्य स्पष्ट नभएकाले मुख्य अर्थमा बाधा परेको छ । त्यसैले यहाँ गङ्गा शब्दको अर्थ लक्षणाद्वारा तीर भन्ने गर्नुपर्छ । तीर र जलप्रवाहको सामीप्य सम्बन्ध छ अर्थात् यी निकट छन् । चिसो अथवा पवित्र ठाउँ भन्ने अर्थ यस लक्षणाको प्रयोजन छ । उक्त प्रयोजनरूप अर्थ व्यञ्जना शक्तिद्वारा बुझिन्छ । त्यसैले यो प्रयोजनवती लक्षणाको उदाहरण हो । लक्षणाका अनेक भेद छन्, तिनीहरूको विस्तृत विवरण ‘साहित्यदर्पण’, ‘काव्यप्रकाश’ आदि ग्रन्थमा हेर्न सकिन्छ ।