व्यञ्जना (स्त्रीलिङ्ग)
अर्थ−
१. कुनै कुरा व्यक्त वा प्रकट गर्ने भाव वा क्रिया,
२. वाच्यार्थ र लक्ष्यार्थदेखि फरक कुनै विशेष अर्थ प्रकट गर्ने शब्द शक्तिलाई व्यञ्जना भनिन्छ । साहित्यमा व्यञ्जनाका तीन भेद छन् - ‘अभिधामूला व्यञ्जना’ - अनेक अर्थबाट एक अर्थ प्रकरण वा साहचर्य आदि कारणले नियमित हुन नसक्ने र फेरि अरू पनि अर्थको बोध हुने ।
“अनेकार्थस्य शब्दस्य वाचकत्वे नियन्त्रिते ॥
संयोगाद्यैरवाच्यार्थधीकृद् व्यापृतिरञ्जनम् ॥”
(काव्यप्रकाश) ‘लक्षणामूला व्यञ्जना’ - लक्षणाको प्रयोजनको जुन वृत्तिद्वारा ज्ञान हुन्छ त्यो लक्षणामूला व्यञ्जना हो । यसका दुई भेद छन् - ‘गूढव्यङ्ग्य’ - आशय सर्वसाधारणले नबुझिने व्यङ्ग्य भएको, ‘अगूढव्यङ्ग्य’ - सजिलैसँग व्यङ्ग्य अर्थ बुझिने । ‘व्यञ्जनामूला व्यञ्जना’ - व्यङ्ग्यबाट व्यङ्ग्यार्थबोध हुन्छ ।
“लक्षणोपास्यते यस्य कृते तत्तु प्रयोजनम् ॥
यया प्रत्याय्यते सा स्याद् व्यञ्जना लक्षणाश्रया ॥”
(साहित्यदर्पण)