व्याहृतिः (स्त्रीलिङ्ग)
अर्थ−
१. बयान,
२. भनाइ / कथन,
३. वेद वा ॐकारबाट उत्पन्न हुँदा महान् र सर्वत्र व्याप्त हुँदा व्याहृति वा महाव्याहृति नामका वैदिक मन्त्र, व्याहृति वा महाव्याहृति मन्त्र तीन अक्षरको ‘भूः भुवः स्वः’ तथा सात अक्षरको ‘भूः भुवः स्व महः जनः तपः सत्यम्’ यी हुन् । तर गौतमको मतमा पाँच अक्षरका महाव्याहृति मानिन्छ । ‘पञ्च वा गौतमाभिप्रायेण’ (याज्ञवल्क्यस्मृति१/१५ मिताक्षराटीका) । सात अक्षरका व्याहृतिलाई सप्तव्याहृति पनि भनिन्छ, जसको प्रयोग वैदिक प्राणायाममा गरिन्छ । तीन अक्षरका व्याहृति वा महाव्याहृति
“भूः - भूवः-स्वः” को प्रयोग देवपूजा, भूरादि होम, गायत्रीमन्त्रजप आदिमा हुन्छ । मन्त्रको उल्लेख भएको ठाउँमा मत्र र मन्त्रको उल्लेख नभएको ठाउँमा व्याहृतिको प्रयोग गर्नुपर्छ । व्याहतिको अगाडि प्रणव लगाउनु पर्छ । व्याहृति ब्रह्माको मुखबाट उत्पन्न भएको हो । तीन व्याहृतिका अर्थ – संस्कारदीपक प्रथमभागमा र सात व्याहृतिको अर्थ - पुरश्चर्यार्णवमा छ ।
“यत्र मन्त्रा न विद्यन्ते व्याहृतीस्तत्र योजयेत् ॥
मन्त्राणामेव चोद्देशे मन्त्रैः कर्म समाचरेत् ॥
भूरादयो व्याहृतयो वेदेभ्यो निःसृताः पुरा ॥
महत्त्वं व्याहृतित्वं च प्राप्तास्तेनैव कर्मणा ॥
ओङ्कारजननात्तासां महत्त्वं प्रतिपाद्यते ॥
व्यापनाद् व्याहृतित्वं च तेन त्रैविध्यतां ययुः ॥”
(संस्कारदीपक) ।