शक्तिः (स्त्रीलिङ्ग)
अर्थ−
१. कुनै त्यस्तो तत्त्व जसले कुनै काम गर्छ गराउँछ वा क्रियात्मक रूपमा आफ्नो प्रभाव देखाउँछ/बल तागत,
२. त्यस्तो साधन वा तत्त्व जसबाट कुनै काम वा इच्छा गरेको कुरा पूर्ण हुन्छ,
३. त्यस्तो सम्पन्न वा पराक्रमी राज्य, जसमा धन सम्पत्ति प्रशस्त मात्रामा हुन्छ,
४. त्यस्तो सम्बन्ध जुन शब्द र उसको अर्थमा हुन्छ,
५. कुनै देवताको पराक्रम वा बल जसलाई कुनै विशिष्ट कामहरूको साधक मानिन्छ,
६. न्यायदर्शनअनुसार त्यस्तो सम्बन्ध जुन कुनै पदार्थ र त्यसको बोध गराउने शब्दमा हुन्छ,
७. शब्दको अर्थ प्रकट गर्ने , अभिधा’, ‘लक्षणा’ र ‘व्यञ्जना नामका तीन शक्तिहरू,
८. शब्दको लक्षणा र व्यञ्जना शक्तिको उल्टो शक्ति,
९. फ्याँकेर प्रयोग गरिने हतियार/भाला वा बर्छा,
१०. अथर्ववेदकी ‘शक्ति’ नामकी पत्नी,
११. स्त्रीको योनि,
१२. राजाको प्रभाव, उत्साह, मन्त्र नामका तीन शक्ति,
१३. पराक्रम,
१४. तरबार,
१५. पार्वती, लक्ष्मी र दुर्गा,
१६. ईश्वर वा महामाया भगवतीको कल्पित माया जसद्वारा चराचरको सृष्टि वा रचना हुन्छ/प्रकृति,
१७. महाविद्या, सिद्धविद्या वा कुनै पनि पीठकी अधिष्ठात्री देवी, जसलाई इष्टदेवता मानेर उपासना गर्ने साधकलाई शाक्त भनिन्छ,
१८. प्राचीन कालको एक हतियार । शक्ति नामको हतियारका सम्बन्धमा डा. रामदासले भारतरहस्यमा लेखेका छन् - शक्ति अस्त्र करिब दुई हात लामो, सिंहको झैँ मुख, जिभ्रो र तीखो नङ्ग्रा भएको, हातले समात्ने मुठ भएको, देख्दा डरलाग्दो, घण्टाको ध्वनि जस्तो डरलाग्दो आवाज आउने,शत्रुको रगतले मुछिएको हुन्छ, अस्त्र जातले जेलिएको, गाढा नीलो रङको, खुब टाढा जान वा पुग्न सक्ने, हिमालय पर्वत जस्तो ठुलो शत्रुलाई मास्न सक्ने, युद्धमा जय दिने तथा दुई हातले चलाइने (हानिने) हुन्छ ।
“शक्तिर्हस्तद्वयोत्सेधा तिर्यग्गतिरनाकुला ॥
तीक्ष्णजिह्वाग्रनखरा घण्टानादभयङ्करी ॥
व्यादितास्या च नीला च शत्रुशोणितरञ्जिता ॥
अस्त्रमालापरिक्षिप्ता सिंहास्यघोरदर्शना ॥
बृहत्त्सरुर्दूरगमा पर्वतेन्द्रविदारिणी ॥
भुजद्वयप्रेरणीया युद्धे जयविधायिनी ॥
उक्त शक्तिका छ प्रकारका मार्ग अर्थात् क्रियाहरू हुन्छन्- १) उत्तोलन (उठाउनु),
२) भ्रामण (घुमाउनु),
३) वल्गन (हल्लाउनु),
४) नामन (तल लैजानु वा नुघाउनु),
५) मोचन (हान्नु),
६) भेदन (हानेको ठाउँलाई काट्नु) ।
“तोलनं भ्रामणं चैव वल्गनं नामनं तथा ॥
मोचनं भेदनं चेति षण्मार्गाः शक्तिसंश्रिताः ॥”
शक्तिः (पुंलिङ्ग)
अर्थ−
वसिष्ठको छोरा र पराशरको पिता ।