षड्दर्शनानि (नपुंसकलिङ्गबहुवचन)
अर्थ−
हिन्दू शास्त्रअनुसार छ दार्शनिक सिद्धान्त वा छ वटा दर्शनशास्त्र - साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त । पुष्पदन्ताचार्यले शिवमहिम्नस्तोत्रमा साङ्ख्य, योग, पशुपतिमत र वैष्णव गरी दर्शनका ४ प्रस्थानभेद मानेका छन् । कौटिलीय अर्थशास्त्रमा- साङ्ख्य, योग तथा लोकायतक गरी तीन दर्शन मानिएको छ । गुरुगीतामा- गौतम, कणाद, कपिल, पतञ्जलि, व्यास र जैमिनि गरी ६ वटा दर्शन बताइएको छ । सर्वसिद्धान्तसङ्ग्रहमा- लोकायतक, आर्हत, बौद्ध, वैशेषिक, न्याय, मीमांसा, (भाट्ट एवं प्राभाकर), साङ्ख्य, योग तथा वेदान्त गरी ९ दर्शनको उल्लेख गरिएको छ । जयन्तभट्टले- मीमांसा, न्याय, वैशेषिक, साङ्ख्य, आर्हत, बौद्ध तथा चार्वाक गरी ७ दर्शनको उल्लेख गरेका छन् । हरिभद्रसूरिले- बौद्ध, न्याय, साङ्ख्य, जैन, वैशेषिक, मीमांसा गरी ६ दर्शनको उल्लेख गरेका छन् । जिनदत्तसूरिले- जैन, बौद्ध, मीमांसा, साङ्ख्य, शैव, नास्तिक गरी ६ वटा दर्शनको निरूपण गरेका छन् । राजशेखरले- जैन, साङ्ख्य, जैमिनि, योग, वैशेषिक, बौद्ध गरी ६ दर्शनको उल्लेख गरेका छन् । सर्वदर्शनको सङ्ग्रह गर्ने श्रीमाधवले- चार्वाक, जैन, बौद्ध, रामानुज, पूर्णप्रज्ञ, नाकुलीश, पाशुपत, शैव, रसेश्वर, औलुक्य, अक्षपाद, जैमिनि, पाणिनि, साङ्ख्य, पातञ्जल र अद्वैतवेदान्त गरी १६ दर्शनको उल्लेख गरेका छन् । मधुसूदन सरस्वतीले- न्याय, वैशेषिक, चार्वाक, दिगम्बर, साङ्ख्य, औपनिषद गरी १२ दर्शन बताएका छन् । यसप्रकार ‘जसद्वारा परमतत्त्वलाई देख्न सकिन्छ’ यस परिभाषाको आधारमा दर्शन अनेक छन्, जसको सङ्ख्या तोकिएको छैन । सामान्यतः लोकमा- चार्वाक, जैन, बौद्ध (सौत्रान्तिक, वैभाषिक, माध्यमिक र योगाचार), यी ३ वटा दर्शन नास्तिक कहलाउँछन् र न्याय, वैशेषिक, साङ्ख्य, योग, मीमांसा र वेदान्त, यी ६ वटा दर्शन आस्तिक दर्शन कहलाउँछन् ।