व्यासः (पुंलिङ्ग)
अर्थ−
१. त्यस्तो सोझो रेखा, जुन कुनै वृत्त वा गोलाइको माझ हुँदै त्यस वृत्त वा गोलाइको दुईटै छेउमा जोडिएको हुन्छ,
२. पुराण आदि कथा सुनाउने विद्वान्,
३. कुनै ठाउँ वा वस्तुको चौडाइ,
४. भाग भाग गर्दै छुट्याउने क्रिया,
५. पराशर ऋषिले सत्यवतीको गर्भबाट जन्माइएका वेदको चार विभाग गर्ने विष्णुका २४ अवतारमध्ये (यो अट्ठाइसौँ द्वापरको) सत्रौं अवतार, जसले पुराण, उपपुराण, महाभारत आदि ग्रन्थको रचना गरे । यी अट्ठाइसौँ द्वापरका व्यासका नाम - वेदव्यास. वादरायणि, कृष्णद्वैपायन आदि छन् ।
“ततः सप्तदशे जातः सत्यवत्यां पराशरात् ॥
चक्रे वेदतरोः शाखां दृष्ट्वा पुंसोऽल्पमेधसः ॥”
(श्रीमद्भागवत) देवी भागवतअनुसार व्यासहरूका नाम - प्रथम द्वापरमा ब्रह्माले व्यास बनेर वेदको विभाग गर्नुभयो । दोस्रो द्वापरमा- प्रजापति, तेस्रो द्वापरमा- उशना, चौथा द्वापरमा - बृहस्पति, पाँचौं द्वापरमा - सविता, छैटौं द्वापरमा - मृत्युदेव, सातौं द्वापरमा- मघवा, आठौं द्वापरमा - वसिष्ठ, नवौं द्वापरमा - सारस्वत, दसौँ द्वापरमा - त्रिधामा, एघारौं द्वापरमा - त्रिवृष, बाह्रौं द्वापरमा- भारद्वाज, तेहौं द्वापरमा - अन्तरिक्ष, चौधौं द्वापरमा - धर्म, पन्ध्रौं द्वापरमा - त्रय्यारूण, सोह्रौं द्वापरमा - धनञ्जय, सत्रौं द्वापरमा - मेधातिथि, अठारौं द्वापरमा - व्रती, उन्नाइसौँ द्वापरमा- अत्रि, बिसौँ द्वापरमा - गौतम, एक्काइसौँ द्वापरमा - हर्यात्मा उत्तम, बाइसौँ द्वापरमा - वाजश्रवा, तेइसौँ द्वापरमा - आमुष्यायण सोम, चौबिसौँ द्वापरमा - तृणविन्दु, पच्चिसौँ द्वापरमा- भार्गव, छब्बिसौँ द्वापरमा - शक्ति, सत्ताइसौँ द्वापरमा - जातूकर्ण्य र अट्ठाइसौँ द्वापरमा - कृष्णद्वैपायनको अवतार भयो । अब आउने उनन्तिसौँ व्यासको नाम - द्रौणि हुनेछ । (देवीभागवत) ।